३० जेठ २०८३, शनिबार

गोलभेँडाको चटनी

फागुन ५, २०८०
काठमाडौं
गोलभेँडाको चटनी

गोपालको जन्म कट्टर कर्मकाण्डी ब्राह्मण परिवारमा भएको थियो ।  निष्टाकर्म रहनुपर्छ भन्थे, अरूले छोएको र पकाएको खाँदैनथे । तर दूध–घिउमा पाकेको चीजको भने वारना हुँदैनथ्यो । दूध–घिउमा पाकेको शुद्ध भनिन्थ्यो, जसले छोएको र पकाएको पनि चल्थ्यो । लसुन, प्याज, गोलभेँडाबाट टाढा रहन्थे, तर माछा मासु भने खान्थे । खोइ कुन्नि किन हो माछा मासुलाई शुद्ध मानिन्थ्यो र जसले पकाएको भए पनि चोखै हुन्थ्यो । तर लसुन, प्याज, गोलभेँडा हालिएको त छैन ? भनेर सोध्न भने छुटाउँदैनथे ।  

एक दिनको कुरा हो गोपाललाई पारी गाउँका अधिकारी क्षेत्रीको घरमा श्राद्ध गर्न जानुपर्ने भयो । यसो त भ्याएसम्म यस्ता काममा बाबु नै जान्थे । त्यसदिन के परेछ कुन्नि सायद भ्याएनन् होला श्राद्धको जिम्मा उसको काँधमा आएको थियो । ऊ श्राद्ध गर्न त गयो तर तरिका भने थाहा पाएन । कहिल्यै गराएको भए पो थाहा पाओस् । विवाह, ब्रतबन्ध, न्वारान, पास्नी आदिमा बाबुले रेखी हालेर दियो, कलश, गणेश पूजा गराएको देखेको थियो । यस्तै गर्नुपर्ने होला भन्ने ठानी यहाँ पनि सोही विधि अप्नायो ।  

बेलुका सिधाको पोकोमा धान देखेर उसकी आमाले सोधिन्– 
‘हरे ! गोफ्लेले त धान पो बोकेर ल्या’ ख त¸सरात गराउन गा’ होइन भन्या !’ 
‘हो । के भो र ? सरातै गराउन त गा’ हो नि !’  छोटो उत्तर दिएर पन्छि खोज्यो उसले । 
‘सराताँ पनि धान राख्न लगाउँछन् त लाटा ! के भने होलान् खसिनीहरूले !’ आश्चर्य मानिन् आमाले । 
‘के भन्नु नि ? कलसाँ’ धान राख्नुपर्छ भन्या’ होइन र ?’

यति भनेर गोपाल हिँड्यो । त्यसपछि आमाले थप केरकार गर्न चाहिनन् । सायद उसको स्वभाव बुझेर चुप लागिन् होला । हुन पनि गोपालको स्वभाव थियो नै त्यस्तै । आफू खुसी गर्ने, दायाँवायाँ नहेर्ने । दुई अध्याय रुद्री कण्ठ भइसक्दासमेत अक्षर चिनेको थिएन उसले । रुद्रीको मन्त्र कण्ठै सुनाउँथ्यो तर अक्षर भने चिनेको थिएन । यसको अर्थ चिनेकै थिएन भन्ने पनि होइन । एक–एक अक्षर कनिकुथी छुट्याउन सक्थ्यो जोडेर भन्न भने सक्दैनथ्यो । 
जब तेस्रो अध्याय शुरू गर्ने बेला भयो बाबुले ‘प’ अक्षर देखाएर सोधे–
‘यो कुन अक्षर हो भन् त गोफ्ले !’ 

झट्ट उत्तर थियो– 
‘पाटी ‘प’ ।’ 
बाबुले सोधे– 
‘त्यसलाई के द्या’ ख नि ?’ 
‘बर्धन्ने ।’ 
‘बर्धन्ने दिँदा के हुन्छ ?’ 
‘पू’ हुन्छ ।’ 
‘अर्को अक्षर के हो नि ?’ 
‘डाडु ज ।’ 
‘जलाई के द्या’ ख नि ?’ 
कान्नानी द्या’ ख ।’ 
‘कान्नानी दिँदा के हुन्छ ?’ 
‘जा हुन्छ ।’ 
‘दुवैलाई जोडेर भन् त ।’ 

अब गोपाललाई आपद पर्‍यो के भन्ने–भन्ने । बाबुको स्वभाव कडा थियो । प्रश्नको उत्तर दिनै पर्ने । त्यसैले जे त पर्ला भन्दै भनिदियो– 
‘पाजा ।’

त्यसपछि बाबुको रिसको डिग्री यति बड्र गयो कि ‘लौ खा तेरा पाजा’ भन्दै गालामा कसेर एक चड्कन लगाइदिए । चड्कन यति कडा थियो आँखाबाट आँसु नै चुहियो उसको । सायद पिसाब पनि चुहिएको थियो कि त्यो भने थाहा पाएन तर भइदियो के भने उसलाई त्यसले औषधिको काम गर्‍यो । किनभने त्यसपछि अक्षर चिन्न र भन्न गाह्रो परेन ।   
जे होस् गोपालले आफ्नै तरिकाले श्राद्ध गराएर सक्यो र आगनमा खाना पकाउन बस्यो तर भइदियो के भने त्यतै आँगनको कुनामा गोलभेँडाको बोट रहेछ, जहाँ लटरम्मै गोलभेडाको हरिया दाना झुण्डिएका थिए । त्यसैले आश्चर्य मान्दै सोध्यो–
‘त्यो हरियो दाना केको आबै ।’

आवैले सहज पारामा भनिन्– 
‘त्यो गोलभेँडाको दाना हो बाहुन नानी ।’ 
‘त्यसले के काम गर्छ आवै ?’ गोपालले थप जिज्ञासा राख्यो । 
‘चटनी खाने चीज हो नानी ।’ क्षेत्रिनी आवैले स्पष्टीकरण दिइन् ।
त्यसपछि उसले पनि त्यसको चटनी बनाइदिन आग्रह गर्‍यो । उसको कुरा सुनेर आवैले अनकनाउँदै भनिन्– 
‘बाहुनले पनि गोलभेडाको चटनी खान्छन् त काठा ! बाबुले थाहा पाए मार्लान् नि ।’
उनको कुरा सुनेर आश्चर्य मान्दै सोध्यो–  
‘त्यसो भए बाहुनले खान नहुने चीज हो यो आवै ?’
‘हो त नि । तिम्रा बाबु खान होइन छुनसम्म हुँदैन भन्छन् ।’ 
‘ए हो र ? त्यसो हो भने उहाँलाई नभन्नु है ।’

त्यसपछि क्षेत्रिनी आवैले गोलभेडा पोलेर चटनी बनाइदिइन् । उसलाई चटनी यति मीठो लाग्यो कि फेरि पनि खान मन लाग्यो, तर लागेर कहाँ पाउनु । घरमा त्यसको संसर्ग नै थिएन । 

समय बित्दै गयो, उसको गोलभेँडाको चटनी खाने धोको पनि बाँकी नै रह्यो । त्यत्तिकैमा एक दिन गोठालो गएको बेला खोलाको किनारमा गोलभेँडाको बोट देख्यो । सायद खोलाले. बगाएर ल्याएको बियाँ उम्रेको हुनुपर्छ । त्यसैले कसैले पनि थाहा नपाउने गरी त्यसलाई ल्याएर भित्री बारीमा सार्‍यो । मलजल पनि गर्‍यो । केही समयपछि फल लाग्न थाल्यो तर भइदियो के भने एक दिन बाबुले देखेछन् र सोधखोज गरे ।
उसलार्ई बाबुले मन पराउँदैनन् भन्ने थाहा थियो. । तैपनि झुट बोलेन र दृढतापूर्वक भन्यो– 
‘मैले हो तर रोपेको होइन सारेको ।’ 
‘कहाँबाट ल्याइस् ।’
‘खोलाको किनारबाट ।’ 

त्यसपछि बाबुले तत्कालै त्यसलार्ई उखेर फाले र घर तथा बारी शुद्ध पार्न रुद्री लगाउने आदेश दिए । घरमा रुद्री पूजा लगाइयो । त्यति बेलासम्म उसलार्ई रुद्री पूरै कण्ठ भइसकेको थियो । त्यसैले रुद्री उसैले पढ्यो तर त्यसदिन दुईपटक पढ्नु परेको थियो । किनभने बाबुले सजायस्वरुप एकपल्ट थप पढ्न लगाएका थिए । 

त्यसदिनदेखि उसले गोलभेडा मात्र होइन माछमासुसमेत खान छाडिदियो । बाबुले सजाय दिन दुईपल्ट रुद्री पढ्न लगाएकाले विद्रोहस्वरुप यस्तो गरेको थियो उसले, तर उल्टो पर्‍यो । यसले बाबुलाई खासै असर गरेन तर आमालाई भने आपत पर्‍यो । छोराले नखाएपछि उनले कसरी खाउन् । यद्यपि उसलाई खान निकै कर नगरेकी होइनन् आमाले, तर उसले मरिकाटे मानेन । यसरी बाबुका निम्ती गरेको विद्रोहको सजाय आमाले पाइन् ।  

त्यति बेलासम्म गोपालको घरमा सबै मासु खान्थे । दशैँलाई भनेर दुई तीन वर्ष अघिदेखि खसी पाल्ने गरिन्थ्यो । आफैँले खाएको गाँस काटेर खुवाउँथे । आफ्नै छोराछोरीलाई जस्तोगरी माया गर्थे र दशैँमा काटेर खान्थे । आफ्नै सन्तान सरह पालेर राखेको बाख्रीको छोरालाई काटेर खान कसरी सकेका होलान् ? तर के गर्ने त्यति बेला गाउँको चलन थियो यस्तै । सबै दशैँलाई भनेर खसी पाल्थे, काटेर खान्थे । यति धार्नी भयो, त्यति धार्नी भयो भनेर गफिन्थे । 

जे होस् गोपालले त्यतिबेलादेखि खान छाडेको मासु अहिलेसम्म पनि खाएको छैन । आमाले पनि खाइनन् र नखारै जीवन बिताइन् । यसबाट उसले पाप गर्‍यो कि धर्म त्यो त थाहा थाहा पाएन तर आमाले मासु खान छाड्नुको कारण भने गोपाल नै बनेको थियो।

salt training

कमेन्ट गर्नुहोस्