![आँखैअगाडि गौरीशंकर [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/cherdung_4_HRfXqYkWmF.jpg)
वसन्तऋतुको आगमनसँगै मौसम सुधार हुँदैछ । नयाँ पालुवा पलाउन थालेका छन् । यस्तो मौसममा घुमफिर गर्न साह्रै रमाइलो हुन्छ । काठमाडौं आसपासका क्षेत्रमा पनि घुम्नलायक थुप्रै ठाउँ छन् । काठमाडौंबाट एकै दिनमा पुगिने पर्यटकीय स्थल हो चेर्दुङ ।

एक दिनमै पुग्न सकिने र केही घण्टाको पैदल यात्रामा आफ्नो आँखै अगाडि गौरीशंकरदेखि सगरमाथा, नुम्बुरसम्म देखिने स्थान हो चेर्दुङ ।
नेपालकै स्वीजरल्याण्डको उपनामले चर्चित चेर्दुङ दोलखाको जिरीमा उभिएको सुन्दर डाँडा हो । जिरीलाई काखमा राखेर चेर्दुङ डाँडाले अभिभावकत्वको भूमिका निभाइरहेको छ ।

समुन्द्र समहबाट करिब ३७०० मिटरको उचाईमा रहेको चेर्दुङ प्राकृतिक रूपमा सुन्दर हुनुका साथै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तिर्थस्थल पनि हो ।
डाको सुन्दर पाखामा खुल्ला आकाशमुनि महादेव शीला छ । जहाँ भक्तजनले चढाएका त्रिशूल नै त्रिशूल छन् । ध्वजा तथा खाताले शीलालाई सिँगारिएको छ ।

वरिपरि लुङ्दर टाँगिएको छन् । चण्डी पूर्णिमा र राम्बोले पूर्णिमामा यहाँ विशेष मेला लाग्दछ । यहाँ पूजा गर्नाले रोग व्याधी नलाग्ने, चिताएको पुग्ने र जंगली जनावरले दुःख नदिने जनविश्वास रहेको पाइन्छ। बौद्धमार्गीको उठ्ने लामाको पनि कथा चेर्दुङसँग जोडिएको छ ।
चेर्दुङ डाँडैबाट सगरमाथाको चुचुरो देखिनुका साथै गौरीशंकर र नुम्बुर हिमाल आँखै अगाडि ठोकिन पुग्छन् । रामदुङ, छेकिगो, टासीलाप्सा, आमाबामरेजस्ता दर्जनौं हिमशृंखलाको मनोरम दृश्य देख्न सकिन्छ ।

डाँडाबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बुलगायत दृश्य हेर्न पाइन्छ । डाँडैबाट सूर्योदय र सूर्यस्तको आनन्द लिन सकिन्छ ।

