
रोजगारीको सिलसिलामा हङकङ बस्दै आएका उर्लाबारीका युवाले गाउँमा एम्बुलेन्स उपलब्ध गराएका छन् ।
उर्लाबारी नगरपालिकालाई हङकङमा बसोबास गर्दै आएका परिवारले २५ लाख ५० हजार रुपैयाँ सङ्कलन गरी पठाएको रकमबाट एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याइएको वडा नम्बर ९ का अध्यक्ष नरबहादुर मोक्तानले जानकारी दिए ।
वडाध्यक्ष मोक्तानका अनुसार एम्बुलेन्स सेवा विपन्न परिवारलाई निःशुल्क प्रदान गरिनेछ ।
नगरपालिकाले विपन्न परिवारसम्बन्धी कार्यविधि बनाइरहेको र त्यो तयार भएपछि विपन्न परिवार परिचयपत्र वितरण गरी त्यसका आधारमा सेवाग्राहीलाई निःशुल्क सेवा गरिनेछ ।
एम्बुलेन्स खरिदका लागि हाल हङकङमा बस्दै आएका उर्लाबारी–९ का याम सेम्बु एक्लैले ५ लाख ३० हजार एक सय ७६ रुपैयाँ र अन्य दाताले थप रकम उपलब्ध गराएका हुन् ।