
रामेछापको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ ।
रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले बताए ।
रामेछाप नगरपालिकाका कर्मचारीहरूले सोही पालिकाको वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो ।
खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो । पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा उनको मृत्यु भएको हो ।
सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए ।
उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य छ ।