
अन्तत: नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा महामन्त्री गगन थापाको प्रस्तावमा सहमत भएका छन् । अर्को चुनावमा कांग्रेसको चुनाव चिह्नमा मात्रै भोट हाल्न दिनुपर्नेलगायत थापाको प्रस्तावमा सभापति देउवा सहमत भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
महासमिति बैठक उद्घाटनपछि मध्यरातसम्मै देउवाको बूढानीलकण्ठस्थित निवासमा ६/७ घण्टा लामो छलफलपछि गगनको प्रस्तावमा देउवा सहमत भएका हुन् ।
बैठक चल्दै गर्दा बालुवाटार पुगेर फर्किएपछि पनि देउवाले गठबन्धनको विषय नलेख्न आग्रह गरेका थिए । तर, थापा तयार भएनन् ।
थापाले केन्द्रीय समिति फेस गर्छु भनेपछि देउवा गलेको ती नेताले बताए । 'महामन्त्री आफ्नो अडानबाट पछि हट्नु भएन । भोटिङमा लाने कुरा आयो । बैठकमा सहभागी नेताहरूले भोटिङ गर्दा राम्रो सन्देश नजाने भनेपछि सभापतिज्यूले ल ठीक छ प्रस्ताव छाप्न पठाए हुन्छ भन्नुभयो,' उनले भने ।
त्यसअघि सभापति देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रचण्डलाई भेटेर आएपछि देउवा थापाको प्रस्तावमा सहमत भएको नेताहरू बताउँछन् ।
‘नेपाली कांग्रेस दृढ संकल्प गर्छ, हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौं । हाम्रा मतदातालाई हाम्रो चुनाव चिह्न रुखमा मात्र मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’ अन्ततः यही प्रस्तावमा सहमति जुट्ने स्थिति बनेको ती नेताले बताए ।
महालक्ष्मी उपाध्याय डिनाले केही विषय मिलाएपछि मंगलबार बिहान तीनवटै प्रस्ताव प्रस्तुत हुने बताइन् ।
महासमिति उद्घाटनमा पनि देउवा चुनावी तालमेलको विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भन्दै यस विषयमा अडान लिने पक्षमा देखिएका थिए । थापाको प्रस्ताव मान्न नहुनेमा प्रकाशशरण महतले दबाब बढाएका थिए । तर, देउवाले 'ल मैले मानेँ' भनेपछि थापाको प्रस्ताव अघि बढ्ने स्थिति बनेको हो ।
केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले प्रस्ताव अगाडि बढाउने समझदारी जुटेको जानकारी दिए । 'सभापति शेरबहादुर देउवा अन्ततः महामन्त्री गगन थापाको प्रस्तावअनुसार नै 'प्रिपोल एलायन्स' नगर्नेसमेत विषय समेटिएको सांगठनिक प्रस्तावमा सहमत भएको उनले बताए ।
'अब आज अन्य प्रस्तावसँगै सांगठनिक प्रस्तावसमेत सबै महासमिति सदस्यको हातमा पर्ने पक्का भएको छ' उनले भनेका छन्, 'अब विधानअनुसार २०८२ मंसिर मसान्तभित्र १५ औं महाधिवेशन र २०८४मा ३ वटै तहको चुनावमा प्रिपोल एलायन्स नगरी पार्टीका कार्यकर्ता, शुभेच्छुकलाई रुखमै मत हाल्ने पाउने सुनिश्चित गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने देखिएको छ।'