
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा आयोगले दोषी करार गरेका व्यक्तिलाई मन्त्रीबाट नहटाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचला गरेका छन् ।
एमाले केन्द्रीय समिति बैठकलाई मंगलवार सम्बोधन गर्दै ओलीले आफैँले बनाएको आयोगले दोषी करार गर्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नगरेको भन्दै आपत्ति जनाएका हुन् ।
‘छानबिन आयोगले मन्त्री दोषी हो भनिसक्यो । न मन्त्रीले राजीनामा गर्छन्, न प्रधानमन्त्रीसँग कारबाही गर्ने हुती छ । नैतिकता नभएका मन्त्री र हुतिहारा सरकार छ’ उनले भने, ‘आफैँले बनाएको आयोगले दोषी करार गरेको छ, जुन दोषका कारण मान्छे मरे, प्रहरी कारबाहीमा परे । तर मन्त्रीले राजीनामा गर्नु नपर्ने ? गठबन्धनले यही गरेको छ, लोकलाज हाँसेको छ ।’
एमालेले यसअघि नै संसद्मै प्रकाश ज्वालाको राजीनामा माग गरिसकेको छ ।
पुस १३ गते बालकुमारीमा कोरिया जान नपाएका युवाले गरेको प्रदर्शनमा मन्त्रीको गाडी पुग्दा झडपको स्थिति आएको थियो । त्यसक्रममा प्रहरीको गोली लागि दुईजना युवाको मृत्यु भएको थियो भने मन्त्रीको गाडी जलाइएको थियो ।