२२ असार २०८३, सोमबार

एन्फाले यो वर्ष ‘ए’ डिभिजन लिग नगर्ने, अर्को वर्ष डबल राउन्डमा हुने

फागुन १५, २०८०
काठमाडौं
एन्फाले यो वर्ष ‘ए’ डिभिजन लिग नगर्ने, अर्को वर्ष डबल राउन्डमा हुने

नेपालमा घरेलु फूटबलको सबैभन्दा माथिल्लो स्तरको प्रतियोगिता शहीद स्मारक ‘ए’ डिभिजन लिग यो वर्ष आयोजना नहुने भएको छ ।

अखिल नेपाल फूटबल संघ (एन्फा)को सोमवार बसेको साधारण सभाले यो वर्ष लिग गर्न नसकिने निर्णय गरेको प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

यो वर्ष ‘बी’ र ‘सी’ डिभिजन आयोजना गर्न असफल भएकाले त्यसको असर ‘ए’मा पनि परेको उनको भनाइ छ ।

यो वर्ष नगरे पनि अर्को वर्ष भने डबल राउन्ड लिग हुने एन्फाले जनाएको छ । २०८१ पुस १२ गतेदेखि आयोजना गर्ने एन्फाको क्यालेन्डरमा उल्लेख छ ।

‘अबको ‘ए’ डिभिजन लिग डबल राउन्ड रोविन लिगका आधारमा शुक्रवार, शनिवार र आइतवार समान २ खेल खेलाइने छ,’ क्यालेन्डरमा उल्लेख छ ।

क्यालेन्डर अनुसार ‘बी’ डिभिजन लिग चैत २५ गतेबाट र ‘सी’ डिभिजन चैत २२ गते शुरू हुनेछ ।

एन्फाले अर्को वर्ष एन्फा यू–१६ युथ लिग, जिल्ला लिग, यू–२१ फूटबल, यू–१५ छात्रा छात्र फूटबल, ग्रासरुट लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, ललित स्मृति यू–१८ युथ लिग तथा यू–१८ महिला युथ लिग र ‘ए’ डिभिजन फुटसल लिग आयोजना गर्ने उल्लेख गरेको छ ।

यस्तै महिला लिग च्याम्पियनसिप दुई चरणमा आयोजना गर्नेगरी क्यालेन्डर तयार पारिएको एन्फाले जनाएको छ ।

सोमवारको बैठक एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित पदाधिकारी, सदस्य १० जना र ‘बी’ डिभिजन लिग क्लबले भने बहिष्कार गरेका थिए ।

केन्द्रीय समितिका आधाभन्दा बढी पदाधिकारी र सदस्य उपस्थित नभएपनि साधारण सभाले प्रस्तावित सबै विषयलाई पारित गरेको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्