२२ जेठ २०८३, शुक्रबार

वाफको फाइनलमा नेपाल, उपाधिका लागि जोर्डनसँग भिड्ने

फागुन १६, २०८०
काठमाडौं
वाफको फाइनलमा नेपाल, उपाधिका लागि जोर्डनसँग भिड्ने

लेबनानविरुद्ध पुनरागमन जीत निकाल्दै नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा भएको खेलमा लेबनानलाई २-१ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । 

दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलसँगै नेपालले पुनरागमन जीत निकालेको हो । नेपालले अब उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्नेछ । यसअघि जोर्डनले मंगलबार नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले गोल गरे । त्यसअघि नेपालकै पूजा रानाबाट भएको आत्मघाती गोलबाट लेबनानले अग्रता बनाएको थियो । ३८औँ मिनेटमा पूजाले ‘ब्याक पास’ दिएको बलमा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा चनाखो नरहँदा नेपालले गोल व्यहोरेको थियो । 

तर, ७६औँ मिनेटमा सावित्रा भण्डारीको गोलमा नेपाल खेलमा फर्कियो । 

इन्जुरी समयको अन्तिम मिनेटमा प्रीति राईले उत्कृष्ट गोल गरेपछि नेपालले २–१ को रोमाञ्चक जीत निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्