
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई खरानीको डल्लोको संज्ञा दिएका छन् ।
बुधवार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतकाे वर्तमान गठबन्धन सरकार खरानीको डल्लोजस्तै भएको बताएका हुन् ।
'वर्तमान गठबन्धन सरकार खरानीको डल्लो हो', उनले भने, 'यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ ।'
यस्तै उनले प्रतिगमनका लागि कांग्रेसलाई कसैले पनि साथ दिन नसक्ने बताए । कांग्रेस प्रतिगामी सोचमा अगाडि बढिरहेको उनको आरोप छ ।
'हामीले प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि कांग्रेसले राष्ट्रपति देऊ अरू सबै लैजाऊ भनेर भन्यो । राष्ट्रपति पाएपछि कांग्रेस उत्ताउलो बनेको छ । किन उत्ताउलो बनेको हो ? त्यो थाहा छैन', उनले भने, 'आफ्नो हैसियत पनि कांग्रेस बुझ्दैन । अब आउँदो निर्वाचनमा के हुन्छ त्यो थाहा छैन ।'
उनले भ्रष्टाचार र विभिन्न मुद्दामा जोडिएका मन्त्रीहरूले राजीनामा दिनु पर्ने बताए ।