२३ जेठ २०८३, शनिबार

निर्माण थालेको दश वर्षपछि ठिमुरा–देवघाट पुल सञ्चालनमा

फागुन १६, २०८०
चितवन
निर्माण थालेको दश वर्षपछि ठिमुरा–देवघाट पुल सञ्चालनमा
फाइल फोटो

भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आएको छ । लामो समयपछि पुल सम्पन्न भएर सञ्चालनमा आएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार निर्माणका क्रममा प्राविधिक समस्या आएको, हावाहुरीले निर्माणकै क्रममा ढलेको लगायत कारण काममा ढिलाइ भएको थियो ।

निर्माण कार्य शुरू हुनुअघि बनाइएको नक्साङ्कनबीचमा संशोधन गर्नुपर्दा समय लागेको पनि उनले बताए । निर्माण शुरू गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको थियो ।

पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो रहेको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्सा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको उनले जानकारी दिए । उनले भने, ‘एक सय २० मिटर ढलान गरिएको छ भने अन्य स्थानमा स्टिलको स्पान बनाइएको छ।’

भरतपुर महानगरपालिका–१ ठिमुरादेखि तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथिको यो पुल निर्माणको कार्य विसं २०७१ को कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो ।

ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी एलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको हो । निर्माणका क्रममा २०७७ साल चैत २४ गते पहिलोपटक र दोस्रो पटक २०७९ वैशाखमा भत्किएको थियो ।

पुल निर्माणका लागि शुरूमा रु १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत रु २१ करोड ६८ लाख ४८ हजार रहेको छ । 

पौडेलले नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ आदि कारण काममा ढिलाइ भएको जानकारी दिए । यो पुल सञ्चालनमा आएसँगै देवघाट आवतजावत गर्ने भक्तजन र सर्वसाधारण लाभान्वित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्