
आफन्तहरू नै बिचौलिया (एजेन्ट) बन्दा वैदेशिक रोजगारमा जानेहरू ठगिने क्रम बढेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा चालु आर्थिक वर्षको फागुन २५ गतेसम्ममा आएका उजुरीमध्ये अधिकांश आफन्तबाटै ठगिएका छन् । प्रशासन कार्यालयमा आएका १२६ उजुरीमा अधिकांशले आफन्त, चिनजान र छरछिमेकीबाट ठगिएको उल्लेख गरेका छन् ।
उजुरी दिएकामध्ये २१ जनाले न्याय पाएको आप्रवासी स्रोत केन्द्र विराटनगरका संयोजक दीपक राउतले बताए । १२६ वटा उजुरीमा ३ करोड ९४ लाख ८६ हजार १४७ रुपैयाँ ठगी भएको उल्लेख छ । ‘१ करोड १३ लाख ४३ हजार ५०० रुपैयाँ ठगिएकाहरूलाई फिर्ता गराउन सफल भएका छौं,’ उनले भने । २१ जनाको उजुरी मिलापत्र गर्दा रकम फिर्ता भएको जानकारी दिए ।
वैदेशिक रोजगारीमा जानेहरूका लागि आप्रवासी स्रोत केन्द्र र स्रोत उपकेन्द्रले कानुनी सहायता उपलब्ध गराउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालयमा स्रोत केन्द्र र इलाका प्रशासन कार्यालयमा उपकेन्द्र रहेका छन् ।
मिलापत्र भएका अधिकांश घटना आफन्तबाटै ठगिएका थिए। जिल्ला प्रशासन कार्यालयले अधिकांश घटनामा आफन्त नै बिचौलिया बनेको पाइएको जनाएको छ । ‘हाम्रामा परेका उजुरीहरूउपर छलफल गर्दा चिनजान तथा आफन्त नै म्यानपावरको एजेन्ट देखिएका छन् । गाउँ गाउँका मानिस खोज्न टोलै पिच्छेजस्तो एजेन्ट राखेको देखिन्छ । एउटा व्यक्ति खोजिदिए बापत उनीहरूले ३० प्रतिशतसम्म कमिसन लिने गरेको खुलेको छ । कारोबार गर्दा बैंकबाट नगरी नगदबाट गर्ने गरेका कारण ठगीमा पर्ने र ठगिएकाहरूसँग प्रमाण नहुने समस्या देखिएको छ,’ राउतले भने ।
एउटै एजेन्टले ४ लाखदेखि १६ लाख रुपैयाँसम्म लिएको उजुरीमा उल्लेख छ । अघिल्ला वर्षहरूमा खाडी मुलुकहरूमा पठाउने नाममा ठगिएका घट्नाहरू बढी आउने गरेका थिए । तर, पछिल्लो समय भने युरोपियन मुलुकहरूमा पठाउने नाममा ठगी गर्ने क्रम बढेको छ ।
प्राप्त उजुरीका आधारमा मलेसिया, साउदी, दुबई, यूएई, माल्टा रोमानिया, दक्षिण कोरियालगायत मुलुकमा पठाउने भन्दै गिरोहले ठगी गर्ने गरेको देखिएको कार्यालयले जनाएको छ । दक्षिण कोरियामा जान इपीएस भाषा परीक्षा पास गर्नुपर्छ । तर, बिचौलियाले परीक्षा उत्तीर्ण नगरी पैसा लिएर पठाइ दिने भन्दै ठगी गर्ने गरेको आप्रवासी स्रोत केन्द्र विराटनगरकी परामर्शकर्ता मुना कोइरालाले बताइन् ।
उनका अनुसार उजुरीकर्ता प्रमाणसहित प्रस्तुत भएको अवस्थामा मात्र कारबाही र क्षतिपूर्ति दिलाउने कानुनी व्यवस्था रहेका कारण अधिकांश पीडितहरूले न्याय पाउन नसक्ने अवस्था देखिएको छ । पछिल्लो समय म्यानपावरबाट भन्दा व्यक्तिगत ठगीको धन्दा बढी देखिएको कोइरालाले बताइन् । यद्यपि उनीहरू मेनपावरकै छद्म प्रतिनिधि रहने गरेका छन् ।
प्रमाण नै नहुने गरी बिचौलियाले पैसा असुल्ने गरेको उनले बताइन् । ‘विदेश पठाउन कुनै इजाजत नभएका व्यक्तिले पछिल्लो समय वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै पैसा असुल्ने गरेको पाइएको छ,’ कोइरालाले भनिन्, ‘पैसा दिएको प्रमाणसमेत हुँदैन ।’
लाखौँ रुपैयाँ असुले पनि म्यानपावरले भने १० हजारको मात्रै रसिद दिने गरेको केन्द्रले जनाएको छ । सरकारी नियमअनुसार एजेन्टहरूले रसिद दिने भएकाले थप रकम लिएको प्रमाण पुर्याउन गाह्रो हुने गरेको उनले बताइन् ।
वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीले दिने कमिसनको प्रलोभनले वैदेशिक रोजगारीमा जानेहरू ठगीमा पर्दै आएका छन् ।
एउटै व्यक्तिले १७ जनाबाट २ करोडभन्दा बढी संकलन गरेको उजुरी आप्रवासी स्रोत केन्द्रमा परेको छ । ‘मोरङको सुनवर्षीका एक युवाले जापान पठाइदिने भन्दै ठगी गरेको उजुरी परेको थियो,’ संयोजक राउतले भनिन्, ‘हाम्रोमा निवेदन आउँदा २ करोड ८९ लाख रुपैयाँ ठगी गरेको भनेर आएको थियो । यो अदालतमा विचाराधीन अवस्थामा रहेकाले मैले धेरै बोल्न मिलेन ।’
वैदेशिक रोजगारीमा जानेहरू चेतनाको अभावले ठगिने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आफन्त र छरछिमेकको भरपर्दा ठगिने गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बताए । वैदेशिक रोजगारीमा जानेहरूले मेनपावरको आधिकारिक व्यक्ति र बैंकमार्फत् प्रक्रिया अगाडि बढाउँदा ठगिने सम्भावना कम हुने उनको भनाइ छ ।
आप्रवासी स्रोत केन्द्रले मोरङका १७ वटै पालिकाका रोजगार संयोजकहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ । स्थानीय तहबाट नै वैदेशिक रोजगारीमा जानेहरूलाई जानकारी गराउने उद्देश्यले छलफल गर्ने गरेको हो ।