१६ असार २०८३, मंगलबार

देवदहमा २० हजार विद्यार्थी अध्ययन गर्न मिल्नेगरी संरचना निर्माण गर्ने तयारी

फागुन २९, २०८०
बुटवल
देवदहमा २० हजार विद्यार्थी अध्ययन गर्न मिल्नेगरी संरचना निर्माण गर्ने तयारी

लुम्बिनी बौद्ध विश्वविद्यालयले रूपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिब १ खर्बको परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । विश्वविद्यालयले एक खर्बका परियोजना सञ्चालन गर्न लागेको सूचना अधिकारी चुडामणि पोखरेलले जानकारी दिए ।

यस्तै, देवदहमा निर्माण भएको विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा बोल्दै विश्वविद्यालयका पदाधिकारीहरूले देवदहमा महत्वपूर्ण परियोजना निर्माणको प्रक्रिया शुरू भएको बताए ।

भवनको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आकर्षणको शैक्षिक केन्द्र बन्ने बताए । बौद्ध दर्शनको प्राध्यापन बुद्ध जन्मेकै स्थानमा गर्न पाउनु विश्वका अध्येताका लागि महत्वपूर्ण हुने उनले बताए । यसको प्राज्ञिक विकासमा सरकारको विशेष भूमिका हुनुपर्ने उनको भनाइ थियो ।

पूर्वमन्त्री तथा सांसद छविलाल विश्वकर्माले देवदहकै विशाल पूर्वाधारको निर्माण विश्वविद्यालयले गर्न लागेको भन्दै सबै पक्षबाट सहयोगको अपेक्षा रहेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले देवदहमा २० हजार विद्यार्थीले अध्ययन गर्न मिल्नेगरी सुविधा सम्पन्न संरचनाहरू निर्माण हुने बताए । विश्वविद्यालयको देवदह शैक्षिक केन्द्रमा १६ हजार विदेशी र ४ हजार नेपाली विद्यार्थीले अध्ययन गर्ने उपकुलपति बज्राचार्यले बताए । विश्वविद्यालयको पूर्ण संरचना तयार हुँदा स्थानीयलाई प्रत्यक्ष लाभ हुने उत्पादनमुखी शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने उनले बताए ।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले लुम्बिनी, देवदह र बुटवललाई तीन शैक्षिक केन्द्रका रूपमा विकास गर्नेगरी विश्वविद्यालयले योजना बनाएको बताए । देवदहमा ९२ विगाहा जमिन प्राप्तीका लागि ६ वर्ष संघर्ष गरेको स्मरण गर्दै उनले देवदहबासीबीच गरिएका पूर्वाधार निर्माणका प्रतिवद्धताहरू पूरा गर्दै लगिने बताए ।

विश्वविद्यालयले देवदहमा ९ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भवन, अस्पताल, प्राथमिक तथा आधारभूत विद्यालय, छात्रावास, शिक्षक तथा कर्मचारी आवास केन्द्र, अनुसन्धान केन्द्र, संग्राहलय, गेष्ट हाउस भिल्लासहितका संरचना बन्नेछन् । रंगशालासहित पर्यटकीय आकर्षण गर्ने संरचना बौद्ध संस्कृति झल्किने शैलीमा बन्ने गरी डिजाइन गरिएको छ । पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन विश्वविद्यालयले बोर्ड अफ ट्रष्टी बनाउने जनाएको छ ।

रजिष्टार डा. तिलकराम आचार्यले पूर्वाधार निर्माणका लागि केही दातृ निकायले प्रतिवद्धता जनाइसकेको बताए । सोमबार उद्घाटन गरिएको भवन झण्डै सवा सात करोडको लागतमा आठ महिना मै तयार भएको हो । एक वर्ष निर्माण अवधि रहे पनि कम्पनीले समयावधिअगावै निर्माण सकेको भन्दै सम्मान गरिएको थियो ।

देवदहमा भवन निर्माणसंगै लुम्बिनी बौद्ध विश्वविद्यालयका संरचना तीन स्थानमा विस्तार भएका छन् । लुम्बिनी, बुटवल र देवदहबाट शैक्षिक कार्यक्रम सञ्चालन गरेको विश्वविद्यालयमा हाल ३० वटा शैक्षिक कार्यक्रम सञ्चालित छन् । विश्वविद्यालयमा २ हजार १३ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

 

 

 

 

salt training

कमेन्ट गर्नुहोस्