
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले अस्थिरता ल्यायो भन्नेमा कुनै सत्यता नभएको बताएका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत मागेपछि संसद्मा बोल्दै ओलीले अघिल्लो वर्ष दुई महिनामा सरकार परिवर्तन गर्दा स्थिरता हुने र यसपटक १४ महिनामा गर्दा कसरी अस्थिरता हुन्छ भन्ने प्रश्न कांग्रेसलाई गरेका हुन् ।
‘अहिले सरकार परिवर्तन भएको छ । यो स्वाभाविक हो । किनकि संविधानअनुसार बहुमत पुर्याएर सरकार बनेको हो । कांग्रेसलाई प्रश्न गर्न चाहन्छु पोहोर साल २ महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता भएन । अहिले १४ महिनामा हुँदा कसरी अस्थिरता भयो ?’, ओलीले प्रश्न गर्दै भने ।
बाहिर रहे पनि आफूहरूले रूवाबासी नगरेको ओलीले बताए । कांग्रेसले गरिखान नसकेपछि आफूहरूले परिस्थिति सम्हाल खोजेको उनको भनाइ छ ।
कांग्रेसले पटकपटक अरूलाई धोका दिने गरेको समेत आरोप ओलीले लगाए । ‘७० सालको चुनावपछि कांग्रेसको मेजोरिटी थिएन । दुई सिट बढी भए पनि कांग्रेसको नेता प्रधानमन्त्री हुनुस् त्यसपछि हामी हुन्छौं भनें’ ओलीले भने, ‘लिखित नगरौं सहमति पालना गरौं भने तर पछि सहमति कहाँ हो कहाँ भयो ।'
कांग्रेस बाचा बन्धनमा अडिएको उनले बताए । ‘कांग्रेसले बाचा बन्धनमा अडिएको, इमानको खानी, बेइमानी नगर्ने भन्दा आश्चर्य व्यक्त गरेको हो । यस्तोलाई बाउला तानिएको भन्छन् गाउँतिर मैले बाउला तानिदिएको हो ।’
एमाले बाहिर बसेर सकारात्मक र सभ्य प्रतिपक्षी बनेको दाबीसमेत ओलीले गरे ।
यसैले कांग्रेस पनि आत्तिने भन्दा अप्ठ्यारो अर्थतन्त्र र अन्य चुनौतीमा सामना मिलेर जान तयार हुनुपर्ने बताए ।