
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता अधिकार दिवस, २०८० का अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गरिरहेको छ ।
उपभोक्ताको अधिकार संरक्षण तथा प्रचलन गरी स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्ने मूल उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको विभागले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘स्वच्छ र प्रतिस्पर्धी बजारः उपभोक्ताको सार्वभौम अधिकार’ नारासहित गरिएको उक्त कार्यक्रमका सफल बनाउन विभागले यसअघि मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरेको थियो ।
विभागबाट तयार गरिएको कार्यक्रम तथा योजनाअनुसार प्रदेश र स्थानीय सरकारहरूलाई अनुगमनकारी निकायसँग समन्वय र सरोकारवाला निकायसँग सहकार्य गरी कार्यक्रम मनाउन पत्राचार गरिएको थियो । जसअन्तर्गत १०० वटा उच्च मावि तथा क्याम्पसका विद्यार्थीसँग उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो ।
‘यस्तै उपभोक्ता संरक्षणवादी संघसंस्था, सञ्चारकर्मी र वस्तुगत संघसंस्थासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तथा सञ्चारमाध्यममा बहस पैरवी तथा टक सो रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी उपभोक्ता अधिकार दिवस मार्च १५ (चैत्र २) का दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा उद्योग वाणिज्य संघका छाता संघ, उपभोक्ता संरक्षणवादी संघसंस्थालगायत सम्पूर्ण सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी दिवस भव्यताका साथ मनाउन लागिएको छ ।’
यसअघि उपभोक्तावादी संघसंस्था र सञ्चारकर्मीसंँग उपभोक्ता अधिकार दिवसका सन्दर्भमा मंगलवार विभागको सभाहलमा अन्तरक्रिया सम्पन्न भएको थियो । जहाँ स्वच्छ र प्रतिस्पर्धात्मक बजार कसरी बनाउने, उपभोक्तावादी संस्था तथा र सञ्चारकर्मीको भूमिका कस्तो हुनेजस्ता विषयमा अन्तरक्रिया भएको थियो ।
त्यस्तै उपभोक्ता अधिकार कार्यान्वयनमा स्वयं उपभोक्ता सचेत, जागरुक र संवेदनशील हुनुपर्नेजस्ता विषयमा पनि अन्तरक्रिया भएको विज्ञप्तिमा उल्लेख छ ।
हेरौं विभागले जारी गरेको विज्ञप्तिः


