
रुपन्देहीका विभिन्न स्थानमा सर्वसाधारणका मोबाइल लुटपाटमा संलग्न समूहलाई प्रहरीले पक्राउ परेको छ । जिल्लाका विभिन्न स्थानबाट मोबाइल लुटेर भाग्ने गरेको सर्वसाधारणको सूचनापछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बुधवार उक्त समूहलाई पक्राउ गरेको थियो ।
प्रहरीले बिहीवार कार्यालयमा पत्रकार सम्मेलन गरेर पक्राउ व्यक्ति, बरामद मोटरसाइकल र मोबाइल सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले पक्राउ परेकाहरूविरुद्ध चोरी तथा डाँका कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जानकारी दिए ।
डीएसपी भट्टका अनुसार पक्राउ परेका व्यक्तिले आफ्नै घर आसपास वा बजार क्षेत्रमा उभिएका सर्वसाधरणसित ‘जरुरी काम परेको छ’ भन्दै मोबाइल मागेर भाग्ने गरेका थिए । ती व्यक्तिले केही स्थानमा मोटरसाइकलबाटै मोबाइल लुटेर भाग्ने गरेको अनुसन्धानबाट खुलेको डीएसपी भट्टले बताए ।
लुटेका मोबाइल पसलमा लगेर बिक्री गरेर आएको पैसाले लागुऔषध खरिद गरेर सेवन गर्ने गरेको खुलेको उनले बताए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर–७ का २५ वर्षीय मनीष हरिजन, २४ वर्षीय देवान गुरुङ, सिद्धार्थनगर–१३ का २४ वर्षीय रोमन घर्ती र सियारी–३ का ३१ वर्षीय मोहम्मद रसिद मुसलमान रहेका छन् ।
उनीहरूमध्ये मोटरसाइकल चालक हरिजनविरुद्ध २०७१ सालमा अभद्र व्यवहार र घर्ती लागुऔषध मुद्दामा एक वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
उनीहरूबाट लु५६प७१७ नम्बरको मोटरसाइकल र ८ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।