
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रमुख प्रतिपक्ष दल बनेसँगै नेपाली कांग्रेसले संसद्मा आफ्नो रुप फेर्न थालेको छ । उसले सरकारविरुद्ध संसदमा आक्रामक बन्ने रणनीति लिएको बताइएको छ । जसअनुसार पछिल्ला बैठकमा कांग्रेसले त्यसको छनक दिन थालिसकेको छ ।
बिहीबारको बैठकमा पनि कांग्रेसले सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई गृहमन्त्रीका रूपमा जिम्मेवारी दिइएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको छ ।
रविलाई गृहमन्त्री बनाउँदा सहकारी ठगीको अनुसन्धान प्रभावित हुने कांग्रेसको चिन्ता छ । बैठकको आकस्मिक समयमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले संसद्को अगामी बैठकमा प्रधानमन्त्रीको जवाफ नआए कांग्रेस कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए ।
सहकारी ठगीमा मुछिएका लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिइएकोबारे कांग्रेसले बुधवार पनि संसद्मा आवाज उठाएको थियो ।
‘अनुसन्धानमा रहेका व्यक्तिलाई गृहमन्त्री बनाइएको सम्बन्धमा हिजो कांग्रेस महामन्त्री, अन्य दलका नेता र कांग्रेस सचेकतले उठाएको विषयमा प्रधानमन्त्रीको मौनताप्रति हामी गम्भीर भएका छौं,’ पाण्डेले बिहीबार भने ।
प्रतिनिधि सभाका यसअघिका बैठकमा प्रतिपक्षी दलले विवादमा मुछिएका मन्त्रीको राजीनामा माग गर्दै प्रधानमन्त्रीको जवाफ माग गरिएको प्रसंग कोट्याउँदै उनले प्रधानमन्त्रीको जवाफका लागि सभामुखसँग रुलिङ माग गरे । यस्तै अर्का विवादित अर्थमन्त्री वर्षमान पुनबारे पनि सांसदहरुले प्रश्न उठाएका छन् ।
००००
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी नियन्त्रणका लागि कानूनी तथा संरचनात्मक सुधार गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले बिहीवार सरकारलाई प्रतिवेदन बुझाउँदै सुनको आयात तथा उपयोगमा अवलम्बन गर्नुपर्ने नीति तथा विगतमा भएका सुन तस्करीको घटनामा अनुसन्धान र अभियोजनमा देखिएका कमीकमजोरी सुधार्न सिफारिस गरेको हो ।
००००
रुसी सेनामा कार्यरत थप सातजना नेपालीको मृत्यु भएको छ । यसको जानकारी परराष्ट्र मन्त्रालयले बिहीवार विज्ञप्ति जारी गर्दै दिएको हो ।
मृत्यु हुनेमा धादिङका पूर्वबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे र झापाका गंगाराम अधिकारी छन् ।
यस्तै बागलुङका जीतबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान पनि छन् ।
००००
डडेलधुरा जिल्लाको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधि पक्राउ परेका छन् ।
बिहीबार कार्यपालिका बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका थिए । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडाध्यक्ष लालबहादुर धामी पक्राउ परेका छन् ।
००००
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सडक दुर्घटनामा परी मृत्यु भएका तीन नेपाली श्रमिकको शव यथाशिघ्र नेपाल फर्काउने तयारी भइरहेको बताएका छन् ।
उनले मृतकका शोक सन्तप्त परिवारजनमा गहिरो सम्वेदना व्यक्त गर्दै मृतक श्रमिकको परिवारलाई पाउने राहत प्रक्रियाअघि बढाउन निर्देशन दिएका हुन् ।
००००
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कञ्चनपुरमा नागरिक अभिनन्दन गरिएको छ ।
बिहीबार एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न महेन्द्रनगर आएका अध्यक्ष ओलीलाई कञ्चनपुर उद्योग वाणिज्य सङ्घले नागरिक अभिनन्दन गरेको हो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि थाइल्याण्डका आवासीय राजदूत तथा पोर्चुगल, भेनेजुएला र मङ्गोलियाका गैर आवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति भवनमा आयोजित छट्टाछट्टै विशेष समारोहमा थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्न, पोर्चुगलका जोआओ म्यानुएल मेन्डेस रिबेरो डे अल्मेडा, भेनेजुएलाका कापाया रोडरिजगुज गोन्जालेज र मङ्गोलियाका गरआवासीय राजदूत गानबोल्ड डम्बजाभले राष्ट्रपति पौडेलसमक्ष आ–आफनो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
००००
उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा भएको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । एकजना घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प)मा उपचारका क्रममा मृत्यु भएसँगै संख्या आठ पुगेको हो ।
००००
लिभिङ टुगेदरलाई कानूनी मान्यता दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता अनु भट्टराईले दर्ता गराएको उक्त रिटको पेशी चैत ४ गते तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले ओरालो लागेर दुई हजार ८० दशमलव ८७ मा सीमित भएको छ ।