
सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले भेपमार्फत् भएको सुन तस्करीमा दोषी देखिएको भन्दै पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिश गरेको छ । आयोगले सत्तारूढ माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई कारबाही गर्न सिफारिश गरेको स्रोतको दाबी छ ।
उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले बिहीवार गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आयोगको प्रतिवेदन पढेपछि रविले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।
आयोगले महरासँग माघ २५ गते बयान लिएको थियो । ‘सुन तस्करीका नाइकेसँग पटक पटक टेलिफोन सम्पर्क भएको र छोरा समेत संलग्न रहेकोले महराको भूमिका देखियो’ आयोगको प्रतिवेदनबारे गृहका एक अधिकारीले लोकान्तरसँग भने ।
आयोगले प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालको भूमिका पनि शंकस्पद भएको बताएको छ । सुन तस्करीका आरोपित जीवन चलाउनेले सर्वेन्द्र खनालको नाम पोलेकोमा सीआईबीका अधिकारीले बयान च्यातेको प्रतिवेदनमा औल्याइएको छ ।
प्रतिवेदनले सीआईबीको छानबिन मै शंका उब्जाउँदै फितलो अनुसन्धान गर्नेमाथि कारवाहीको सिफारिस गरेको छ ।
महराको नाम जोडिएपछि रविले प्रचण्डसँग छलफल गरेका थिए । जवाफमा प्रचण्डले सुन तस्करीमा जोडिएका जो कोहीलाई कार्वाही गर्न निर्देशन दिएका थिए । ‘आयोगले दोषी देखाएका कसैलाई जोगाउने पक्षमा छैन, कारवाही गर्नुस्’ प्रचण्डले रविलाई दिएको निर्देशनबारे स्रोतले भन्यो ।