
आज काठमाडौं उपत्यकासँगै देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका थोरै स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, हिमाली भू-भागका एक-दुई स्थानमा पनि छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।
अहिले काठमाडौं उपत्यकाको मौसम सामान्यतया बदली रहेको मौसमविद् प्रतिमा मानन्धरले जानकारी दिइन् । उनका अनुसार यतिबेला काठमाडौं उपत्यकाको आकाश पनि बादलले ढाकिएको छ ।
आज उपत्यकामा घाम देखिने सम्भावना एकदम कम रहेको उनले बताइन् । 'काठमाडौंमा आज बदलीको सम्भावना छ । दिनभर नै घाम देखिने सम्भावना एकदम छ । आगामी तीन दिनसम्म यस्तै रहने अनुमान छ,' उनले भनिन्, 'काठमाडौंमा पानी पर्ने सम्भावना पनि छ । तर, धेरै ठूलो भने होइन । छिटपुट वर्षा हुनसक्छ ।'
आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानमा साथै बाँकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।