
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा रहेको धार्मिक सद्भाव, सहिष्णुता र प्रजातान्त्रिक तथा उदार चरित्र विश्वका लागि अनुकरणीय दृष्टान्त भएको बताएका छन् ।
मुस्लिम आयोगको पाँचौं वार्षिक स्थापना दिवसका अवसरमा बुधवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
'मैले अस्ति हिन्दूहरूको पवित्र मन्दिर जलेश्वर महादेवको दर्शन गरें। हिजो बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थल स्वयम्भू नाथको दर्शन गर्न गएँ र आज मुस्लिम समुदायबीच आएको छु', राष्ट्रपति पौडेलले भने, 'नेपाली समाज कति सहिष्णु, कति सद्भावपूर्ण र प्रजातान्त्रिक उदारतापूर्ण छ भन्ने यो दृष्टान्त विश्वले अनुकरण गर्ने खालको छ ।'
उनले संविधानको यही भावनाको संरक्षण गर्नु नै सबै नेपालीको धर्म भएको बताए ।
राष्ट्रपति पौडेलले राज्यका हरेक निकायमा सहभागिताको समान अवसर प्रदान गरेर सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष पुरा हुने विश्वास व्यक्त गरे ।