
हिउँद भरिको खडेरीले आजित भएका किसानलाई वर्षा भएपछि थोरै भए पनि राहत मिलेको छ । पूर्वी नेपालसहित मधेश र बाग्मती प्रदेशका बुधबारदेखि वर्षा हुन थालेपछि किसानलाई राहत मिलेको हो ।
मकै बाली लगाउने समयमा वर्षा नभएपछि किसान चिन्तित थिए । लामो खडेरीका कारण समयमा मकै बाली लगाउन नपाएका किसानले वर्षा हुन थालेपछि राहत महसुस गरेका छन् । हिउँदभर वर्षा नहुँदा अधिकांश किसानले मकै बाली लगाउन पाएका थिएनन् भने मकै रोपेको (छरेको) राम्ररी नउम्रेको र उम्रेको पनि सुक्न थालेको थियो ।
बुधबारदेखि भने सामान्य वर्षा हुन थालेपछि मकै खेती लगायत हिउँदे बालीका लागि राहत मिलेको किसानहरूले बताएका छन् । उनीहरूका अनुसार सामान्य भए पनि वर्षा भएकाले हिउँदे बालीलाई राहत पुगेको छ ।
धान खेती लगाउने खेत (जग्गा) मा मकै लगाउन ढिलो भइसके पनि सामान्य वर्षा भएसँगै बुधबारदेखि नै किसानले रोप्न थालेका छन् ।
मकै खेती लगाउने मुख्य समय माघ र फागुन महिना भए पनि वर्षा नभएकाले अहिलेसम्म खेती लगाउन पाएका थिएनन् । पानीको पर्खाइमा रहेका अधिकांश किसानले सामान्य वर्षा हुने बित्तिकै धमाधम मकै खेती लगाउन थालेका छन् । मकै खेती लगाउनलाई केही ढिलो भए पनि अहिले लगाएको बालीका लागि थप समय अनुकूल भई दिएमा उत्पादनमा खासै कमी नआउने किसानको भनाइ छ ।
यस्तै, अहिले भएको वर्षाले नगदेबाली अलैँची, फलफूल खेतीलगायत हिउँदे बालीलाई पनि राहत पुगेको किसानले बताएका छन् । लामो अवधिको खडेरीपछि सामान्य वर्षा हुँदा कृषि कर्मका लागि पर्याप्त भने नहुने किसानहरू बताउँछन् । कृषिका लागि समय अनुकूल हुनलाई बेला बेलामा वर्षा हुन अनिवार्य रहेको उनीहरूको भनाइ छ।
यता लामो सुख्खा मौसमका कारण वनमा डढेलो लाग्ने क्रम बढिरहेका बेला वर्षाले राहत मिलेको छ । वर्षाले डढेलो नियन्त्रणमा सहयोग पुगेको र थोरै भए पनि वातावरण सन्तुलित बनाउनुमा टेवा पुग्ने वातावरणविद्हरूको बभनाइ छ ।
बालीविद् डा डिल्लीराम शर्माका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपातका कारण आलुखेतीलाई फाइदा पुगेको छ भने पहाडि तथा तराई क्षेत्रमा गहुँ मकै, तोरी तरकारी बालीका लागि राम्रो भएको छ । 'लामो समयसम्म पानी नपर्दा सुक्खा बढेको थियो । जसले गर्दा आलु, गहुँ, तोरीलगात बाली उत्पादनमा ह्रास आउनसक्ने खतरा थियो । तर, हालको वर्षाले खेतीपातीका लागि राम्रो भएको छ,' उनले भने, 'कुनै स्थानमा मकै छरिएको छ त कतै छर्ने तयारी भइरहेकाले पानीले राम्रो गरेको छ ।'
अहिले बिहान पनि कोशी, मधेस र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशका केही स्थान, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यसले थप किसानलाई राहत मिल्ने छ । मकै लगाउनेलाई मात्रै होइन चैते धान रोप्ने तयारीमा रहेका किसान पनि पानी परेपछि खुसी भएका छन् ।