२८ जेठ २०८३, बिहीबार
प्रधानमन्त्रीका विवादास्पद सारथि

सरकारलाई गम्भीर नैतिक प्रश्न– सुनकाण्डमा जोडिएका अर्थमन्त्रीमाथि छानबिन हुनुपर्दैन?

चैत ८, २०८०
काठमाडौं
सरकारलाई गम्भीर नैतिक प्रश्न– सुनकाण्डमा जोडिएका अर्थमन्त्रीमाथि छानबिन हुनुपर्दैन?

मन्त्रीहरू विवादित र नतिजाविहीन भएको भन्दै सत्ता समीकरण बदलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख पदमै स्वार्थ बाझिने मन्त्री नियुक्त गरेका छन् ।

नेपाली कांग्रेसले सरकार सञ्चालनमा प्रभावकारी काम गर्न नदिएको र असहयोगको नीति लिएको आरोप लगाएका प्रचण्डले फेरि विवादित पात्रलाई मन्त्री चयन गरेपछि सदनदेखि सडकसम्म आलोचनाको स्वर सुनिन थालेको छ ।

मुख्यगरी यसअघि पटक–पटक भएका सुन तस्करीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत चिनियाँ कम्पनी सीएमसीलाई ठेक्का दिने गैरकानूनी निर्णय गरेका वर्षमान पुन अर्थमन्त्री छन् ।

उनका साथै, नागरिकले आफ्नो गाँस कटाएर बचत गरेको नगद अपचलनमा आरोपित रवि लामिछाने स्वार्थ बाझिने गृह मन्त्रालयको कमाण्डमा छन् ।  

पटक–पटक हुने सुन तस्करीमा माओवादी नेता र तिनका परिवारका सदस्य नै एकपछि अर्को मुछिएका घटना बाहिर आएका छन् । पटक–पटक विवादमा तानिँदै आएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमै पक्राउ परेका छन् । सुन तस्करीसम्बन्धी छानबिन समितिको रिपोर्टपछि महरा पक्राउ परेका हुन् । 

उनी मात्रै होइन, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसमेत यो प्रकरणमा पक्राउ परेका छन् । उपराष्ट्रपतिका सचिवालय सदस्यदेखि अर्का छोरा समेत यो प्रकरणमा मुछिएर पटक–पटक सुन तस्करी गरेको प्रमाण सार्वजनिक भइरहेका छन् । 

यही तस्करीको जालोमा वर्षमानले सुन तस्करसँग पटक–पटक संवाद गरेको, सँगै बसेर खाना खाएको जस्ता स्वार्थपूर्ण व्यवहारका कारण गम्भीर प्रश्न उठ्दै आएको छ । तर, उनै विवादित पात्र पुनलाई प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्रालयको कमान्ड सुम्पेपछि आलोचना हुन थालेको हो । स्वार्थ बाझिने गरी नेताहरूलाई जिम्मेवारी दिइएपछि प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दल थप आक्रोशित भएका छन् । 

पछिल्लो समय नियमित चलेको संसद् बैठकका प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलका सांसद समय लिएर शून्य समयमा समेत विवादित पात्रलाई अर्थ र गृह मन्त्रालयको जिम्मेवारी दिइएको विषयमा आपत्ति जनाउँदै आएका छन् । कांग्रेसले संस्थागत रूपमै विवादास्पद पात्र बारेको बहसलाई थप चर्काउने संकेत गरिसकेको छ ।

गत सोमबार प्रतिनिधिसभाको बैठकमा सुनकाण्डमा महरा पक्रिएको विषयमा कांग्रेस सांसद गगन थापाले सरकारलाई धन्यवाद भनेका थिए । तत्कालीन प्रतिपक्षी एमालेले खबरदारी गर्दा सुनकाण्ड लुकाउने प्रयास असफल भएको थापाले बताएका थिए । यसैले यस काण्डमा जोडिएका जोसकैलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने आशय थापाले व्यक्त गरेका थिए । 

‘सुनकाण्डमा शक्तिशाली मान्छेहरू जोडिएका विषय आएका छन् । प्रहरीले अनुसन्धान गर्दैगर्दा तत्कालीन प्रतिपक्षीले सदनमा जोडदार आवाज उठाउँदा छानबिन आयोग बन्ने र शक्तिशालीलाई लुकाउने प्रपञ्च बन्द भयो,’ थापाले भनेका थिए, ‘महरा पक्राउ परेकोमा सरकारलाई धन्यवाद ! यो प्रकरणमा परेका एउटालाई पनि छाड्न हुन्न भन्ने हाम्रो माग छ ।’

थापाले यतिमात्रै भनेका थिएनन्, कुनै दलका नेता वा नाता भए पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने मत राखेका थिए । 

‘शरणार्थी प्रकरणको विषयमा खुट्टा नकमाऊ भनेर रोस्ट्रमबाट बोलेको हुँ । सुन तस्करी छानबिनका लागि आयोग बनाउने कुरामा साथ दिएको हुँ । अख्तियारले छानबिन गरेकालाई घर पठाऊ भनेको थिएँ’, थापाले सोमबारको संसद् बैठकमा भनेका थिए, ‘सत्तापक्षबाट कसैले भन्नुहुनेछ, सुनकाण्डमा एक जनाले पनि उन्मुक्ति नपाओस्, रूखको छहारीमुनि बसेको होस् कि घाम ताप्ने या घण्टी बजाउने होस् भन्ने हिम्मत गर्नुपर्छ ।’

कांग्रेस नेता डा. शेखर कोइरालाले बुधबार बुटवल पुगेर स्वार्थ बाझिने नेताले पदमा बस्न नमिल्ने बताएका छन् । ‘अहिले गृहमन्त्रीका विषयमा स्वार्थ बाझियो भनेर हामीले नै प्रश्न उठाइरहेका छौं,’ कोइरालाले भने, ‘गृहमन्त्री, अर्थमन्त्री जो भए पनि प्रश्न उठेपछि सरकार र व्यक्ति स्वयं जवाफदेही हुनुपर्छ ।’

null

कांग्रेस नेता गुरु घिमिरे पटक–पटक हुने सुनसहितका तस्करीमा जिम्मेवार नेता मुछिने र उनीहरूले नै पटक–पटक अवसर पाउनुले गम्भीर सन्देह पैदा भएको बताउँछन् । 

‘एयरपोर्टबाटै सुन तस्करी गर्ने गरेकोमा पहिले पनि सरकारमा गएका गृहमन्त्री र मन्त्रीको नाम विभिन्न विवादमा आउने गरेको थियो । अवैध आर्जनमा मन्त्री लागेकोमा प्रश्न चिह्न उठ्दै आएको पाइन्छ । अहिले पछिल्लो समयमा कहिले एमालेका नेताका काण्ड आएका छन्, कहिले सुनकाण्डमा माओवादीका नेता मुछिएको विषय बाहिर आएका छन्,’ घिमिरेले लोकान्तरसँग भने, ‘व्यक्ति भ्रष्ट बाटोतर्फ अग्रसर भएर यस्तो काण्डमा अग्रसर भएको हुन सक्छ । या पार्टीले यस्ता कामका लागि निर्देशित गरेको हुन सक्छ । प्रचण्डजीले एकपटक सत्ता भनेको बन्दुक र पैसा हो भन्नुभएको थियो । उहाँकै पार्टीका नेता बारम्बार यस्ता काण्डमा संलग्न भएको देखिँदाखेरी आशंका गर्न सकिन्छ ।’ 

मुख्यगरी कम्युनिस्ट पार्टीमा अवैध स्रोतबाट आम्दानी गर्न नेता विशेषलाई परिचालन गर्दा पनि यस्तो काण्ड आइरहने घिमिरे बताउँछन् । ‘कम्युनिस्ट पार्टीले स्रोत आर्जनका लागि पार्टीका खास नेतालाई परिचालन गरेको हुनसक्छ । कम्युनिस्ट पार्टीले वैध र अवैध स्रोतबाट आर्जन गर्ने गरेका छन् । यो नैतिक विषय मात्रै होइन, आपराधिक विषय पनि हो’, उनले भने, ‘यस्ता घटनामा संलग्न व्यक्तिले आफूले गर्दै नगरेको हो भने ओठे जवाफले उम्कन मिल्दैन । आरोप असत्य र निराधार हो भने तर्कहरूले पुष्टि गर्नुपर्छ ।’ 

नेता घिमिरे आमनागरिकलाई यस्ता स्वार्थ बाझिने विषय थाहा नहुने भन्दै राज्य नै जवाफदेही हुनुपर्ने बताउँछन् ।  

‘यस्ता आरोपितलाई राज्यले कारबाही गर्नुपर्छ । आमनागरिकले यो कुरा थाहा पाउँदैनन्, तर राज्यका संयन्त्रले नै यो कुरा थाहा पाउनुपर्छ’, उनी भन्छन्, ‘सुनकाण्डमा पछिल्लो आयोगले दिएको रिपोर्टका आधारमा माओवादीका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् । उच्चपदस्थ व्यक्ति नै यस्ता कुरामा संलग्न हुनु दुखद् कुरा हो । जनताले गरेको विश्वासमाथिको कुठाराघात हो ।’  

लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव डा. सुरेन्द्र झा पनि पार्टीको संरक्षणमा गलत व्यक्तिलाई अवसर दिँदा राजनीतिमा विकृति आएको बताउँछन् । 

‘कतिपय अवस्थामा हाम्रो संसद्को गणितको बाध्यताले पनि विवादित पात्रलाई ल्याउनुपर्ने व्याख्या गरिएको छ । यसैको परिणाम हो, पूर्व सभामुखदेखि अर्थमन्त्री नै सुनकाण्डको विवादमा तानिएका छन्’, झाले लोकान्तरसँग भने, ‘यस्ता प्रवृत्तिले गणतन्त्रको मूल मर्मलाई मारेको मात्रै छैन, गलतलाई असर दिँदा देशको विकास र समाजको रुपान्तरण पनि अपेक्षित गतिमा हुन सकेको छैन ।’

सत्ता र शक्तिका लागि जे पनि गर्ने प्रवृत्तिले राजनीतिमा असक्षम जमात बढेको उनी बताउँछन् । 

‘सत्तामा पुग्न सिद्धान्तविहीनसँग मिल्ने, अकुत सम्पत्ति कुम्ल्याउने नाइके र अनैतिकको जमात बढ्दो छ, जसले आम नागरिकमा वितृष्णा त छँदैछ, व्यवस्थाप्रति पनि नागरिकहरू नैराश्यता व्यक्त गर्नुपर्ने ठाउँमा पुगेका छन्,’ झा भन्छन्, ‘सहकारी लुटें भन्नेलाई पदको पुरस्कार दिने, खुलेआम सुन तस्करीलाई संरक्षण दिने, ठूला घटनामा सामूहिक रूपले बाँडेर खाने दुर्भाग्यपूर्ण प्रवृत्तिविरुद्ध खबरदारी गर्नुपर्छ ।’

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले पनि पटक–पटक स्वार्थ बाझिने गरी गृहमन्त्रीले देखाएको ढिपीले गम्भीर सन्देह पैदा गरेको बताएकी छिन् । 

‘सहकारी र सुनकाण्ड ठगीमा दीपेश पुन पक्राउ पर्दा रवि लामिछानेलाई किन सहकारी प्रकरणमा उन्मुक्ति दिइयो ? प्रधानमन्त्री रविबारे प्रमाण छैन भन्नुहुन्छ, तर दीपेश पुन पक्राउ पर्ने, अनि गृहमन्त्रीप्रति (उदार) देखिनुहुन्छ,’ न्यौपानेले भनिन्, ‘रविमाथि पहिलोपटक नागरिकताको विषय थियो । लाइन बसेर नागरिकता लिनुभयो । दोस्रोपटक सहकारीको रकम हिनामिना भयो । हामी प्रतिपक्षीमा बस्छौं भन्नुभयो, तर फेरि बुर्लुक्क उफ्रेर स्वार्थ बाझिएको गृह मन्त्रालय किन चाहियो ?’ 

कांग्रेस सांसद उदयशमशेर राणाले अर्थतन्त्रलाई चलायमान बनाउन सहकारीको भूमिका मुख्य भए पनि यही क्षेत्रलाई शिथिल बनाइएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बुधबार बोल्दै राणाले सहकारी ठगीका विषयमा रवि लामिछाने आफैं धामी, आफैं बोक्सी बन्न खोज्दा समस्या आएको बताए ।

‘एउटा कुरा के हो भने सहकारीबारे निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन सक्दैन । सहकारीमा धेरै नेपाली जोडिएकाले यसबाटै अहिले नेपाली नागरिक पीडित छन्,’ राणाले भने, ‘यसैले रविमाथि यसमा छिटोभन्दा छिटो छानबिन गर्नुपर्छ । तर अहिले रविजी झाँक्री पनि आफैं र बोक्सी पनि आफैं भनेजस्तो भूमिकामा हुनुहुन्छ । आरोपित व्यक्ति छानबिन गर्ने समितिमा भएपछि कसरी स्वतन्त्र छानबिन होला ? यसैले संसद्मा समिति बनाएर छानबिन गरौं ।’

कांग्रेस नेता एवं अर्थविद् डा. गोविन्दराज पोखरेल नेपालमा स्वार्थ बाझिने ठाउँमै पुग्न मरिहत्ते गर्ने प्रवृत्तिमा सुधार आवश्यक भएको बताउँछन् । 

‘अदालतले फैसला गरेपछि मात्रै पद छाड्ने, नत्र व्यक्तिले पनि नछाड्ने र पार्टीले पनि नहटाउने संस्कार हुँदा नेपालमा राजनीतिक प्रणालीप्रति नागरिकले भरोसा, विश्वास र आशाको दृष्टिकोण राख्न सकेका छैनन्’, पोखरेल भन्छन्, ‘अहिले कांग्रेसले उठाएको विषय पनि यही हो । गृहमन्त्री र अर्थमन्त्रीमाथि स्वार्थ बाझिने आरोप लागेका छन् । यसरी नेता र मन्त्रीमाथि पटक–पटक प्रश्न उठ्दै आएका छन् । आफूमाथि लागेका आरोप सम्बन्धमा व्यक्ति आफैंले पारदर्शिता र उत्तरदायित्व देखाउनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्