
अर्थमन्त्री वर्षमान पुनले आगामी पाँच वर्षमा पाँच खर्ब बराबरको ‘सफ्टवेर’ निर्यात गर्न सकिने एक अध्ययनले देखाएको भन्दै आगामी बजेटमा यो क्षेत्रलाई विशेष प्राथमिकता दिइने बताएका छन् । बिहीवारको अर्थसमितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
‘अघिल्लो आवमा सफ्टवेयरलगायत उपकरण नेपालबाट रू ७६ अर्ब बराबरको निर्यात भएको देखिन्छ । एक अध्ययनले पनि आगामी पाँच वर्षमा पाँच खर्ब बराबरको सफ्टवेयर निर्यात गर्न सकिने देखाएको छ,’ उनले भने, ‘वार्षिक १० हजार जनशक्ति सूचना प्रविधि क्षेत्रमा आइरहेकाले उनीहरूलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेगरी सूचना प्रविधिको क्षेत्रलाई बजेटले प्राथमिकता दिने छ ।’
मन्त्री पुनले कृषि, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत विषयलाई प्राथमिकता दिएर बजेट ल्याउन सांसदहरुले उठाएका विषय र सुझावलाई सम्बोधन गरिने विश्वास व्यक्त गरे ।
समितिका सभापति सन्तोष चालिसेले बजेटले उत्पादन र निर्यातमूलक क्षेत्र, विद्युत् उत्पादन र बजार प्रवर्द्धनलगायत विषयलाई ध्यान दिनुपर्ने सुझाव दिए । उनले पर्यटन प्रवर्द्धन, कृषिको आधुनिकीकरणलगायत क्षेत्रलाई बजेटमा समेटिनुपर्ने धारणा राखे ।
अर्थ समितिले आव २०८१–८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्तावबाहेक)सम्बन्धी अर्थमन्त्रीसँग छलफल गरेको हो । समितिका सदस्यले बजेट पहुँचका आधारमा नभई आवश्यकताका आधारमा विनियोजना गर्न सुझाव दिएका थिए । उनीहरूले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना, रुग्ण आयोजनालाई चाँडो सम्पन्न गर्नेगरी बजेट विनियोजना गर्न अर्थमन्त्रीसमक्ष माग गरे ।
पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बजेट ल्याइनुपर्ने बताए । उनले आगामी बजेटमा मुलुकलाई दिगो आर्थिक विकास लक्ष्य हासिल गर्ने, अधुरा आयोजनालाई पूर्णता दिने, सन्तुलित विकासको आवश्यकता पहिचान गरी बजेट ल्याइनुपर्ने धारणा राखे ।
सांसद सूर्य थापाले अर्थतन्त्रलाई सुदृढ बनाई सञ्चालित आयोजनालाई चाँडो सम्पन्न गर्नेगरी बजेटमा समेट्न माग गरे । सांसद दीपक खड्काले पुँजीगत खर्च नहुने विगतको परम्परालाई तोड्नेगरी बजेट ल्याउन आग्रह गर्नुभयो । सांसद नारायणी शर्माले कार्यान्वयनमुखी बजेट ल्याउनुपर्ने धारणा राखे ।
सांसद मेटमणि चौधरीले पुँजीगत खर्चको टिठलाग्दो अवस्थालाई मध्यनजर गर्दै जनताको आवश्यकतालाई ध्यानमा दिएर सन्तुलित बजेट ल्याउन माग गर्नुभयो । सांसद नारायणप्रसाद भट्टराईले राष्ट्रिय गौरवका आयोजनाको गति बढाउनेगरी बजेट आउनुपर्ने बताए ।
समितिको बैठकमा सांसद छिरिङ डम्डुल लामा (भोटे)ले कर्णालीको विकासलाई बजेटले प्राथमिकता दिनुपर्ने बताए । सांसद गङ्गा कार्कीले आन्तरिक राजस्व सुधार, पर्यटन क्षेत्रको विकासलगायत विषयलाई बजेटले समेटन्नुपर्ने धारणा राखिन् ।
सांसद रणकुमारी मगर, अञ्जली श्रेष्ठ र मुक्ताकुमारी यादवले कृषि उत्पादन प्रवर्द्धन, शिक्षा, स्वास्थ्यका साथै दिगो विकास लक्ष्य हासिल गर्नेगरी बजेटले प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिएका थिए । -रासस