
कास्कीको माछापुच्छ्रे गाउँपालिका सिक्लेसमा ६ दिनअघि भीरमा लडिरहेको अवस्थामा शव भेटियो । चैत ३ गते निर्माणधीन रहेको हाइड्रोपावर जाने बाटोको कच्ची सडकखण्डभन्दा ३० मिटर तल शव देखिएपछि वडाध्यक्षले कास्की प्रहरीमा खबर पठाए । पोखराबाट नेपाल प्रहरीको वडा प्रहरी कार्यालय रामबजार खटियो । शव हेर्दा हत्या भएको आशंकापछि प्रहरी अनुसन्धानमा जुट्यो ।
तत्काल शवको पहिचान नखुलेपनि पछि प्रहरीको अनुसन्धानमा मृतक सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं ३ का ३६ वर्षीय रामबहादुर तामाङ रहेको खुल्न आयो । अनुसन्धानका क्रममा कास्की प्रहरीले हत्या योजना बनाउने रामबहादुरकै श्रीमती कान्छीपेम्बा लामा रहेको खुलाएको छ ।
रामबहादुर गत फागुनमा मात्र सिक्लेसमा निर्माणधीन रहेको हाइड्रोपावरमा काम गर्नका लागि आएका थिए ।परिवारलाई सिन्धुपाल्चोकमा रहेको हाइड्रोपावरमा काम गर्छु भनेर हिँडेका उनी फागुन ३० गते राति आफ्ना अन्य साथीहरूसँग काठमाडौंबाट रात्रि बस चढी सिक्लेस आएका हुन् ।
रामबहादुरको सँगै आएका साथीसँग चैत १ गते झगडा भएको थियो । उनी र हत्या आरोपी धन लामाबीच पुरानो रिसइबी रहेको कास्की प्रहरीले जनाएको छ । हाइड्रोपावरको काममा जाने समयमा रामबहादुर, धन गरी चारजना रक्सी खाएर सँगै हिँडिरहेका थिए । रामबहादुरले आफूलाई गाली गरेपछि धनले मार्ने उद्देश्यले उनलाई पछाडिबाट ढुंगा प्रहार गरेका हुन् ।
अनुसन्धानका क्रममा प्रहरीले चिप्ली गाउँको रेस्टुरेन्टमा रहेको सीसीटीभी फुटेज हेर्दा चैत १ गते मृतक रामबहादुरसहित अन्य तीनजना व्यक्ति घटनास्थलतर्फ जाँदै गरेको फेला पार्यो । अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले धन लामा, फुर्वा लामा, अजित तामाङ, रामबहादुरकी श्रीमती कान्छीपेम्बालाई पक्राउ गर्यो ।
साथीसँगको रिसिइबी र श्रीमतीको हत्या योजना
पाँच वर्षअघि सिन्धुपाल्चोकको हाइड्रोपावरमा रामबहादुर तामाङ र धन लामासँगै काम गर्थे । सो समय स्काभेटरको सहचालकको रुपमा काम गर्ने धनलाई रामबहादुरले ढुंगा प्रहार गरी टाउकोमा चोट पुर्याएका थिए । प्रहरीको अनुसन्धानका क्रममा रामबहादुरको हत्या योजना उनकी श्रीमती बनाएकी र त्यसलाई पूरा धनले गरेको खुलेको हो ।
रामबहादुर र उनकी श्रीमती कान्छीपेम्बाबीच पाँच वर्षदेखि सम्बन्धमा मनमुटाव थियो । मनमुटावपछि बेग्लै बस्दै आएका श्रीमान्ले दुई वर्षअगाडि दोस्रो विवाद गरे । जेठी श्रीमती रहेकी कान्छीपेम्बाले उनीविरुद्ध अदालतमा बहुविवाहको मुद्दा हालिन् । त्यसपछि रामबहादुर ६ महिना कारागार बसेका थिए । कारागारबाट छुटेपछि उनी र जेठी श्रीमतीबीच झगडा हुने गरेको प्रहरीले बताएको छ ।
कान्छीपेम्बाले श्रीमान्लाई ‘पन्छाउनु’ भन्दै धनलाई पैसा दिने वचन गरेकी थिइन् । उनले धनलाई सुपारीको रुपमा ९० हजार रुपैयाँ पठाएको पाइएको छ । त्यसमध्ये घटनामा संलग्न दुईजनाले २०–२० हजार र धनले ५० हजार रुपैयाँ राखेको खुलेको छ ।
कास्की प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकका अनुसार अपराधमा संलग्न धन लामा, फुर्वा लामा, अजित तामाङ र कान्छीपेम्बा लामालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।