
एलोन मस्कको ब्रेन-चिप स्टार्ट-अप न्युरोलिंकको मानव परीक्षणको हिस्सा रहेका एक एक्स (ट्विटर) प्रयोगकर्ताले आफूले सोचेकै आधारमा एक्समा पोस्ट गर्न सम्भव भएको दाबी गरेका छन् ।
'म बोट हुँ कि भन्ने शंकाका आधारमा ट्विटरले मलाई प्रतिबन्ध लगाएको थियो,' परीक्षणका क्रममा २९ वर्षीय नोल्याण्ड अर्बाखले दिमागको सहारामा एक्समा लेखेका छन्, 'म म नै भएकाले एक्स र एलोन मस्कले मलाई पुनः स्थापित गरे ।'
अर्बाखको पोस्टमाथि जवाफ दिँदै एलोन मस्कले उल्लेख गरेका छन्, 'न्यूरोलिंक टेलिप्याथी उपकरण प्रयोग गरेर सोचेर मात्र लेखिएको पहिलो पोस्ट !'
यही मार्च २० मा मस्कले अनलाइन चेस खेल्न 'मस्तिष्क चिप' प्रयोग गरेका तिनै अर्बाखलाई लाइभ टेलिभिजनमार्फत सार्वजनिक गरेका थिए । त्यसलगत्तै सोचेर नै ट्वीट गरिएको घटना उजागर भएको थियो ।

अर्बाख दुर्घटनाका कारण पक्षाघातबाट पीडित थिए, उनीमाथि न्यूरोलिंक परीक्षण गरिएको थियो ।
न्यूरोलिंक उपकरण प्रयोग गरेर अर्बाखले ल्यापटपको कर्सर नियन्त्रण गरेका थिए । उनले जनवरी २०२४ मा न्यूरोलिंक उपकरण प्रत्यारोपण गराएका थिए ।
सोही उपकरण प्रयोग गरेर आफ्नो सोचमार्फत माउसको क्रसर नियन्त्रण गरेको मस्कले दाबी गरेका छन् ।
'न्यूरोलिंक इम्प्लान्टको उद्देश्य व्यक्तिलाई कम्प्युटर कर्सर वा किबोर्डलाई उनीहरूको सोचमार्फत हेरफेर गर्ने बनाउनु हो,' समाचार संस्था रोयटर्सले आफ्नो एक रिपोर्टमा उल्लेख गरेको छ ।
शल्यक्रियामार्फत उक्त उपकरण इम्प्लान्ट गरिएपछि अर्बाखले कुनै कमजोरी महसुस गरेको बताएका छैनन् ।
'शल्यक्रिया सुपर इजी थियो,' अर्बाखले भनेका छन् । उनी एक दिनमै अस्पतालबाट डिस्चार्ज भएका थिए ।
पक्षघातबाट पीडित अर्बाख पुनः चेस खेल्न सफल भएपछि उनले एलोन मस्कको न्यूरोलिंकप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
उनले भने, 'यो जीवन परिवर्तन गर्ने अभियान हो र म कृतज्ञ छु ।'
यद्यपि एक कार्यक्रममा बोल्दै युनाइटेड स्टेट्स नेशनल इन्स्टिच्युट अफ हेल्थको न्यूरल इन्जिनियरिङका लागि पूर्वनिर्देशक किप लुडविगले न्यूरोलिङ्कको प्रदर्शन 'ब्रेकथ्रु' नभएको बताए ।
उनले प्रत्यारोपणपछिको प्रारम्भिक चरण र न्यूरोलिंक बिरामी दुवैलाई नियन्त्रण गर्ने प्रक्रिया लामो रहेको बताए । यद्यपि लुडविगले कम्प्युटरसँग इन्टरफेस गर्ने प्रक्रिया सकारात्मक रहेको बताएका छन् ।
अर्बाखले पनि यो प्रविधि पूर्ण नभएको र केही समस्या रहेको स्वीकारेका छन् ।
'म यो यात्राको अन्त्य हो भनेर सोच्न चाहन्नँ,' उनले भने, ' अझै धेरै काम गर्न बाँकी छ, तर यसले मेरो जीवन परिवर्तन गरिसकेको छ ।'