
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
वैशाख १० गते हुने उपनिर्वाचनमा नेकपा एमालेले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले स्व। सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
पूर्व सभामुख समेत रहेका प्रतिनिधि सभाका सदस्य सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभाको सो क्षेत्र रिक्त भएको थियो ।
यस्तै, एमालेले बझाङमा हुने प्रदेश सभा निर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। अन्य पार्टी पनि उम्मेदवार टुंगो लगाउने क्रममा रहेका छन् ।
००००
एमाले अध्यक्ष केपी शर्मा ओलीले इलाम २ को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका सुहाङ नेम्वाङलाई शुभकामना दिएका छन् ।
सुहाङसँगको फोटो राख्दै ओलीले आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।
‘युवा सँगसँगै’ भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको छु । आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ । शुभकामना छ सुहाङ !’
००००
यसैबीच अर्थ मन्त्रालयले वैशाख १५ को उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट स्वीकृति गरेको छ । आयोगले गएको फागुनमा उपनिर्वाचनका लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले माग गरे अनुसार नै खर्च गर्ने गरी अर्थ मन्त्रालयले बजेट सुनिश्चितताको स्वीकृति दिएको जानकारी दिए ।
००००
आइतबार परेको फागु पूर्णीमा (होली) लाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ वटा सवारी साधन होल्ड गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९० स्थानमा विशेष चेकिङ गरिएको गरिएको थियो । आइतबार पहाडी र हिमाली क्षेत्रमा धुमधामका साथ होली मनाइएको छ ।
००००
उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । उनीहरु नुहाउन नदीमा जाँदा आइतबार दिउँसो वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा –१४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् ।
००००
ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्या भएको छ । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गएराति दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
००००
पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादमा पुगेर मात्र देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिचन्द्र क्याम्पस कमिटीले आइतबार आयोजना गरेको ‘बृहद् होली मिलन कार्यक्रम’मा उनले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका हुन् ।
००००
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कीराका कारण आइतवार बिहान तीन घण्टा उडान प्रभावित भएको छ ।
विमानस्थलको धावन मार्गमा कीरा फट्याङ्ग्रा आउँदा चरा आएपछि विमानस्थलको उडान प्रभावित बनेको हो ।
विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म विमानस्थलमा उडान प्रभावित बनेको थियो ।
००००
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको विषय राजनीतिक पूर्वाग्रह भएको टिप्पणी गरेका छन् ।
रविविरुद्ध अहिलेसम्म राज्यको नियामक निकायमा औपचारिक उजुरी दर्ता भइनसकेको उनले बताए ।
००००
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । आइतवार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए ।
००००
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन प्रमुख किरण बज्राचार्यसहित चारजना प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्ने विषयमा गृह मन्त्रालयले उपसमिति गठन गरेको छ ।
गृहका सूचना अधिकारी एवं उपसचिव एकदेव अधिकारीका अनुसार आइतवार गृहका कानून महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन भएको हो ।