
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री कार्यालयमा भएको सचिवहरूको नियमित बैठकमा सोमवार उनले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताए ।
‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानूनबमोजिम काम गर्न डराउनु पर्दैन,’ कर्मचारीलाई ढाडस दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कहीँकतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु ।’
नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै उनले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए । ‘राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन्,’ उनले थपे, ‘हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ । अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।’
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सुशासन आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गरे । ‘म आफू पनि राष्ट्र र कानूनविपरीतको कुनै पनि काम गर्दिन र तपाईंहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु,’ उनले थपे ।
जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत करदस्तुर बुझाउनेजस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए ।
तेस्रो त्रैमासिकको लगभग अन्त्यसम्म आइपुग्दासमेत पुँजीगत खर्च सन्तोषजनक नभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आयोजना अधुरा रहनु तथा काम सम्पन्न भइसकेका आयोजनाको पनि भुक्तानी हुन नसक्नु सुखद पक्ष नभएको बताए ।