०२ असार २०८३, मंगलबार

ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सुरक्षा योजनाबारे छलफल, ‘नाइट वाक’ क्षेत्र बनाउन माग

चैत १२, २०८०
काठमाडौं
ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सुरक्षा योजनाबारे छलफल, ‘नाइट वाक’ क्षेत्र बनाउन माग

काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउन निर्देशन दिएसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल शुरू गरेका हुन् ।

ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाइएको छ ।

छलफलमा बोल्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी भइरहेको बताए ।

'सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्छाैं, उनले भने ।

उनले व्यापार व्यवसाय सञ्चालनका लागि व्यवसायी र स्थानीयबासी सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिने बताए ।

व्यवसायीले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन नपाउने उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले अहिलेको भन्दा आपराधिक क्रियाकलाप बढ्नसक्ने अनुमानका आधारमा सोहीअनुसारको सुरक्षा प्रणाली विकास गरिने बताए ।

व्यवसायीले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् हुनेगरी ध्वनि प्रदूषण गर्न नपाउने उनको भनाइ थियो ।

छलफलमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग परिषद्ले राख्दै आएको बताए ।

'परिषद्ले ठमेललाई कसरी व्यवस्थित र अपराधमुक्त बनाएर सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा पटकपटक सम्बन्धित निकायसँग छलफल गर्दै आएको छ', उनले भने ।​

दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४ सै घण्टा खुला गर्न हरेक हिसाबले उपयुक्त भएको बताए ।

दरबार मार्गलाई २४ सै घण्टा खुला गरी ‘नाइट वाक’ क्षेत्र बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्