
म्याग्दीमा आज साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पुर्याएको छ । लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनीनगरपालिका क्षेत्रका हिउँदे खेतीबालीमा क्षति पुगेको हो ।
रघुगङ्गामा दिउँसो करिब २ बजेदेखि सुरु भएको असिना करिब तीन घण्टासम्म परेको थियो भने बेनी नगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि असिना परेको थियो । असिनाले खेतवारीमा भित्र्याउने अवस्थामा पुगेको गहुँ, जौ, केराउलगायतका खाद्यबाली सबै नष्ट गरेको छ । त्यसैगरि खेतमा भर्खर उम्रिएका मकै बालीसमेत अनिसाले पूर्ण रुपमा क्षतविक्षत बनाएको कृषकले बताएका छन् ।
असिनाले सुन्तला, कागतीलगायतका फलफूलमा लागेको फूल झारेको छ ।
रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, कलेजाबाङ, मौवाफाँट, बेग, दग्नाम, झिँ, पाखापानी, बेनीनगरपालिकाको पात्लेखेत, घतान, पुलौचार, अर्थुङ्गे, बगरफाँट, बेनीबजार लगायतका स्थानमा भारी असिना पानी भएको बेनी नगरपालिका–९ तोरीपानीका कृषक भद्रबहादुर बानियाँले जानकारी दिए ।