
इंडियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोर(आरसीबी)ले पहिलो जीत दर्ता गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।
पञ्जाबले दिएको १७७ रनको लक्ष्य आरसीबीले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर भेट्टाएको हो । आरसीबीका लागि विराट कोहलीले ५९ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ७७ रन बनाए ।
यस्तै दिनेश कार्तिकले १० बलमा २८ रनको विष्फोटक अविजित इनिङ खेले । महिपाल लोम्रोर ८ बलमा १७ रन बनाएर नटआउट रहे । रजत पतिदरले १८ बलमा १८ रन नै बनाए ।
पञ्जाबका लागि कागिसो रबाडा र हरपृत ब्रारले समान २-२ विकेट लिए । यस्तै स्याम करन र हरशल पटेलले १-१ विकेट लिए ।
त्यसपछि टस हारेर पहिले ब्याटिङ लको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा सर्वाधिक ४५ रन बनाए । यस्तै जितेश शर्माले २७, प्रभसिम्रन सिंहले २५ तथा श्याम करनले २३ रन बनाए । शशाङ्क सिंहले २१ रन जोडे ।