२४ जेठ २०८३, आइतबार

कोशीमा सरकार फेरबदलको कसरतः गठबन्धनमा आबद्ध पार्टीका संसदीय दलका नेता छलफलमा

चैत १४, २०८०
विराटनगर
कोशीमा सरकार फेरबदलको कसरतः गठबन्धनमा आबद्ध पार्टीका संसदीय दलका नेता छलफलमा

केन्द्रमा सत्ता समीकरण फेरिएको तीन हप्तापछि कोशी प्रदेशमा सरकार फेरबदलको विषयले औपचारिक रुपमै प्रवेश पाएको छ ।

नयाँ गठबन्धनका नेताहरूले बुधवारदेखि औपचारिक रुपमै छलफल थालेका हुन् ।   

प्रदेश सरकारमा कसले नेतृत्व पाउने भन्ने विषय टुंगोमा पुगिनसकेको अवस्थामा बुधवार प्रदेशको राजधानी विराटनगरमा तीन दलका नेताले छलफल गर्ने जनाइएको छ । नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईबीच छलफल हुन लागेको हो । 

विशेषगरी मुख्यमन्त्रीमा एमाले र माओवादी केन्द्रले दाबी गरिरहेका छन् । तथापि एमालेले नेतृत्व गर्ने सहमति भइसकेको सो दलका नेताहरूले दाबी गर्दै आइरहेका छन् । अर्कोतिर माओवादीले भने सहमति भइनसकेको जनाएको छ । 

एमाले संसदीय दलका नेता कार्की पनि विराटनगरमै रहेकाले बुधवार नै छलफल हुने एकीकृत समाजवादीका सचिवसमेत रहेका संसदीय दलका नेता राईले बताए । साँझसम्ममा तीनै जनाबीच छलफल हुने माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले पनि पृष्टि गरे । 

राई बुधवार नै गृहजिल्ला भोजपुरबाट विराटनगरमा आएका हुन् भने आङ्बो पनि मंगलवार साँझ नै आएका हुन । कार्की पनि एमाले उदयपुरको जिल्ला अधिवेशन पछि विराटनगर नै आएका छन् । 

नयाँ समीकरणअनुसार अब कसरी अगाडि बढ्ने भनेर तीन नेताबीच छलफल हुने जनाइएको छ । गत फागुन २१ गते केन्द्रमा नयाँ गठबन्धन बनेपछि कोशीमा पनि त्यसको असर परेको छ । 

केदार कार्की गत असोज २७ गते एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री बनेका थिए । उनले आफ्नो दल कांग्रेसबाट ८ सांसद लिएर विद्रोह गरेका थिए । अहिले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार एमालेले नै ढाल्न हतारो गरिरहेको छ । 

बुधवार तीन नेताबीच सरकारलाई दिएको समर्थन तथा सत्ता गठबन्धनमा रहेका दलहरूले मन्त्री फिर्ता बोलाउने विषयमा छलफल हुने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए  । केन्द्रमा समीकरण फेरिँदासम्म अहिलेसम्म पनि  प्रदेश सरकारमा माओवादी र एकीकृत समाजवादी सहभागी छन् । मुख्यमन्त्री कार्कीले कात्तिक १६ गते माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिएको थियो । माओवादीबाट तीन र एकीकृत समाजवादीबाट एक मन्त्री सरकारमा सामेल छन् । 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले भने आफ्नो सरकारको विकल्प नरहेको जिकिर गर्दै आएका छन् । 

कोशीमा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ६, एकीकृत समाजवादीको चार र जनता समाजवादी पार्टीका एक सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याएर सरकार गठन गर्न कम्तीमा ४७ सांसदको साथ आवश्यकता पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्