
आइपीएल क्रिकेटमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई हराएको छ । गएराति कीर्तिमानी योगफलसहित रनको वर्षा भएको खेलमा हैदराबादले मुम्बईविरुद्ध ३१ रनको जीत हात पारेको हो ।
घरेलु मैदानमा भएको खेलमा हैदराबादले आईपीएल इतिहासकै सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर कीर्तिमानी २७७ रन बनाएको थियो । योसँगै रोयल च्यालेन्जर्स बैंगलोरले सन् २०१३ माबनाएको २६३ रनको योगफलको कीर्तिमान टुटेको छ ।
हैदराबादका लागि हेन्रीक क्लासनले ३४ बलमा सर्वाधिक ८० रन बनाए । यस्तै अभिषेक शर्माले २३ बलमा ६३ रन जोडे भने ट्राभिस हेडले २४ बलमा ६२ रन बनाए । एइडन मारक्रमले २८ बलमा ४२ रनको योगदान गरे ।
जवाफमा मुम्बईले ५ विकेट गुमाएर २४६ रन बनाउन सक्यो । मुम्बईका तिलक वर्माले ३४ बलमा सर्वाधिक ६४ रन बनाए । यस्तै टिम डेभिडले ४२, ईशान किसनले ३४, नमन धिरले ३० तथा रोहित शर्माले २६ रन बनाए ।