
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दोस्रो चरणको संवाद यात्रा शुरू गरेका छन् । आज बिहान नवलपरासीको गौरीगञ्ज चोकमा रहेको जननायक बीपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर उनले दोस्रो चरणको संवाद यात्रा शुरू गरेका हुन् । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरू भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो ।
दोस्रो चरणको संवाद यात्रा आज, भोलि र पर्सि नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने कांग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिए ।
महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरूका समस्या सुन्ने गरेका छन् । यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ ।
शुरूदेखि नै हुलाकी मार्गमा भइरहेको संवाद यात्राअन्तर्गत आज महामन्त्री थापा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुँदै जिल्ला पार्टी कार्यालय पुगेर रूपन्देही प्रस्थान गर्नेछन् ।
आजै रूपन्देहीको धकधही, भैरहवा, जिल्ला पार्टी कार्यालय हुँदै बेथरीसम्म पुग्ने छन् । भैरहवामा उनले उद्योग व्यवसायीसँग संवाद गर्नेछन् भने बेथरीमा स्थानीय सरोकारका विषयमा छलफल गर्नेछन् ।
भोलि १६ गते रूपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रियाबाट संवाद यात्रा शुरू भई कपिलबस्तु प्रवेश गर्नेछ ।
थापा नेतृत्वको संवाद यात्रा टोलीले १६ गते नै कपिलबस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुदै चन्द्रौटासम्म संवाद गर्नेछ ।
त्यसैगरी १७ गते बिहान दाङको गोवरडिहामा थारू संवादबाट शुरू हुने संवाद यात्रा जङ्ग्रहवा हुँदै बाँके प्रस्थान गर्नेछ । बाँकेमा उनले १७ गते सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्ने र फत्तेपुरमा जनसंवाद गर्ने यात्रामा संगै रहेका नेविसंघका पूर्वमहामन्त्री युवराज पाण्डेले जानकारी दिए ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समुदायमा कांग्रेस अभियानअन्तर्गत नै महामन्त्री थापाले यो संवाद यात्रालाई निरन्तरता दिएका हुन् ।