
चैत महिनामा परेको झरीका कारण काठमाडौंको मौसम प्रभावित हुँदा अन्तर्राष्ट्रिय तथा डोमेस्टिक उडानका विमान प्रभावित भएका छन् । बिहीवार बिहान भिजिविलिटी कम भएका कारण काठमाडौंमा अवतरण गर्ने अन्तर्राष्ट्रिय विमान प्रभावित भएका हुन् ।
एयर चाइनाको विमान बीचबाटै चीनतर्फ फर्किएको थियो । त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार कतार, भिस्तारालगायतका विमान आकाशमा होल्ड भएका थिए ।
बिहान भिजिबिलिटी १६०० मिटर रहेकोमा ११ बजेपछि २५ सय मिटर पुगेको थियो । ‘काठमाडौंबाट उडान भर्न समस्या नभए पनि अवतरणमा समस्या भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका थिए, अहिले क्रमशः अवतरण भइरहेका छन्,’ झाले बिहान सवा ११ बजे लोकान्तरसँग भने ।
काठमाडौं आउँदै गरेका बुद्ध, यति र श्री एयरका विमानलाई भैरहवासहित विभिन्न विमानस्थलमा डाइभर्ट गरिएको छ ।