
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले करको दरमा एकरुपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ । प्रदेशहरुमा करको दरमा एकरुपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा योजना आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकरुपता ल्याउन अध्ययन गरिने जानकारी दिए ।
विकास समस्या समाधान समितिको बैठकले सवारी करमा एकरूपता ल्याउनका लागि छलफल गरेर उपयुक्त समाधानका उपाय खोजिने निर्णय भएको उनको भनाइ छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् । नयाँ सत्ता समीकरण बनाएको एक महिना पनि नपुग्दै गर्दा प्रचण्डले फेरि उथलपुथल गर्न सक्ने बताएका हुन् ।
यसअघि नेपाली कांग्रेस छोडेर नेकपा (एमाले)लाई समीकरणमा मिसाउँदा पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डले उथलपुथल गर्न आफू माहिर भएको बताएका थिए ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई बिहीवार सम्बोधन गर्दै प्रचण्डले विकास निर्माणसहितका कामलाई तीव्रता दिन नसके पदमा बसिरहने मान्यतामा आफू नभएको बताएका हुन् ।
‘कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लगाउँदिन । त्यो मैले अरुलाई भनेको होइन मेरै लागि भनेको हुँ । मैले भन्ने गरेको छु,’ प्रचण्डले भने, ‘कामै गर्न नसक्ने स्थिति बन्यो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर मैले सार्वजनिक रुपमा जनतालाई पनि भनेको छु । अहिले पनि पदको सुरक्षाका लागि अर्को समीकरण बनाएको होइन ।’
००००
२१ फागुनमा सत्ता समीकरण फेरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।
बिहीबार बिहान ११ बजे बालुवाटारमा भएको भेटमा संसद्को गतिरोध र शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए । उनका अनुसार प्रचण्ड–देउवाबीच एक घण्टा जति कुराकानी भएको हो ।
००००
नयाँ सत्ता समीकरण बनेसँगै बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मन्त्रिपरिषद् पुनर्गठनमात्रै भएको छैन, नयाँ गठबन्धनमा हाम्रो नेपाली पार्टीको प्रवेश भएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलको कुर्सी पनि जोगिने निश्चित भएको छ ।
नयाँ समीकरणअनुसार एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै सत्ता गठबन्धनमा हाम्रो नेपाली पार्टीको प्रवेश भएको हो । हाम्रो नेपाली पार्टीको साथ रहेमा बागमतीमा सत्ता गठबन्धन जोखिने अङ्कगणित थियो ।
मन्त्रिपरिषद् पुनर्गठनअनुसार हाम्रो नेपाली पार्टीका शैलेन्द्र मान बज्राचार्य संस्कृति, पर्यटन तथा सहरी विकासमन्त्री बनेका छन् । यस्तै लक्ष्मण लम्साल श्रम, राजेन्द्र मान श्रेष्ठ कृषि तथा पशुपक्षी, युवराज दुलाल भौतिक पूर्वाधार, गङ्गानारायण श्रेष्ठ आन्तरिक मामिला र कुमारी मोक्तान सामाजिक विकास मन्त्री रहेका छन् ।
अन्य बाँकी ५ मन्त्रालय भने हाललाई मुख्यमन्त्री आफैले राखेका छन् । ती मन्त्रालय एमालेलगायतलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिने छ ।
००००
त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको हो ।
समितिलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको निर्णयअनुसार ३० दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
००००
मन्त्रिपरिषद बैठकले धानको न्यूनतम समर्थन मूल्य तोक्नेदेखि सचिव बढुवासम्मको निर्णय गरेको छ ।
सरकारले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु २७ सय ०७ रुपैयाँ २८ पैसा र त्यो भन्दा बढी चिस्यान भएको धानको मूल्य प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई न्यूनतम समर्थन मूल्य तोकेको हो ।
बिहीवार साँझ बसेको नियमित मन्त्रिपरिषद बैठकले डा हरि लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ भने, प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँड अन्तर्गतको रकम पनि स्वीकृत गरेको छ ।
००००
नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले बिहीवार सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा मिलन लिम्बूलाई पार्टीको उम्मेदवार बनाएको छ ।
रास्वपाले बिहीवार विज्ञप्ति जारी गर्दै आगामी उपनिर्वाचनका लागि लिम्बूलाई उम्मेदवार बनाएको घोषणा गरेको हो ।
००००
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालसहित १९ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९१ करोड ९८ लाख ३० हजार ८८२ बिगो दाबी गरेर बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
००००
कम्तीमा एक वर्षका लागि नवीकरण हुनुपर्ने नेपाल–भारत विद्युत् व्यापार सम्झौता ३ महिनाका लागि मात्र नवीकरण भएको छ । अहिले नेपाल आइरहेको विद्युतको परिमाण घटाएर ल्याउने गरी सम्झौता नवीकरण भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले ३ महिनाका लागि सम्झौता नवीकरण भएको जानकारी दिए । ‘५ सय मेगावाट विद्युत् आयात गर्नेगरी ३ महिनाका लागि सम्झौता भएको छ,’ घोषले भने ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ ।
००००
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएका छिन् ।
अर्यालले राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललाई बिहीवार राजीनामा पत्र बुझाएकी हुन् ।