
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्ने चेतावनी दिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम अन्तिममा स्थगित भएको छ । लामिछानेले बुधवारको प्रतिनिधिसभा बैठकमा संसद्को आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिने तयारी गरेका थिए ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको सहमति बेगर सदनको एजेन्डा बनाइए कठोर हुने चेतावनी दिएका थिए । सभामुखले सो कार्यसूची हटाएकोमा उनले धन्यवाद दिए ।
महामन्त्री शर्मा बोलेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री–मन्त्रीले संसद्मा समय माग्दा उपलब्ध गराउने संसदीय अभ्यास रहेको बताएका थिए ।
गृहमन्त्री लामिछानेले संसद्मा बोल्न सभामुखसँग समय माग गरेका थिए । मंगलवार पनि संसद् भवनबाहिर गृहमन्त्री लामिछानेले आफूले संसद्मा सम्बोधन गर्न पाउनु पर्ने बताएका थिए । सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिनको माग गर्दै कांग्रेसले संसद्मा निरन्तर आवाज उठाइरहेको छ ।