०५ साउन २०८३, मंगलबार
सन्दर्भः उपनिर्वाचन

इलाम र बझाङका लागि उम्मेदवार छान्न बूढानीलकण्ठमा कांग्रेस बैठक

चैत २१, २०८०
काठमाडौं
इलाम र बझाङका लागि उम्मेदवार छान्न बूढानीलकण्ठमा कांग्रेस बैठक
फाइल तस्वीर ।

इलाम– २ को प्रतिनिधिसभा र बझाङ प्रदेशसभा– १ लागि उम्मेदवार तय गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधवार अपरान्ह बैठक बसिरहेको हो । 

इलाममा यसअघि ११४ मतले पराजित भएका डम्बरबहादुर खड्का कि भेषराज आचार्य भन्नेमा कांग्रेसका संस्थापन र इतर पक्षबीच विवाद भएको छ । संस्थापनले खड्का र इतर (शेखर कोइराला–गगन थापा) पक्षले आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान लिँदै आएका छन् । यी दुईबाहेक इलाम उम्मेदवारको लागि केशव थापा, रमेश लिङ्देन, नगेन्द्र कुमाल, चन्द्रमाया लिम्बू र शान्तिकला राई तामाङ लगायतको नाम सिफारिस भएको थियो । 

त्यस्तै बझाङ प्रदेशसभामा जगतप्रसाद जोशी र अभिषेक सिंहमध्ये एकजना उम्मेदवार हुने कांग्रेसका एक नेताले जानकारी दिए । यी दुईबाहेक बझाङ प्रदेशसभाका लागि सत्यराज भण्डारी, विष्णुकुमार सिंह, नन्दकृष्ण जोशी, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा र नारायण हमालको नाम क्षेत्र, जिल्ला र प्रदेशहुँदै केन्द्रका लागि सिफारिस भएको थियो । 

पहिले संसदीय बोर्डको बैठकले उम्मेदवार सिफारिस गर्ने र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर उम्मेदवारको नाम अनुमोदन गर्ने तयारी कांग्रेसको छ ।

इलाम– २ का लागि नेकपा (एमाले)ले सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बूलाई उम्मेदवार बनाइसकेको छ ।

आगामी वैशाख १५ का लागि उपनिर्वाचको मिति तोकिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्