२७ असार २०८३, शनिबार

बेच्न लैजान लागिएका ५ महिलाको गौशालाको होटलबाट उद्धार

चैत २१, २०८०
काठमाडौं
बेच्न लैजान लागिएका ५ महिलाको गौशालाको होटलबाट उद्धार

वैदेशिक रोजगारीको प्रलोभनमा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ ।

मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलाहरूलाई उद्धार गरिएको हो ।

उक्त घटनाको थप अनुसन्धान र आवश्यक परामर्श थालिएको जनाएको छ ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले उनीहरूलाई गिरोहले विदेश पठाउने भनेर काठमाडौंको गौशालास्थित एक होटलमा राखिएको अवस्थाबाट उद्धार गरिएको जानकारी दिए ।

बहाना वैदेशिक रोजगारीको भए पनि उनीहरूलाई तेस्रो मुलुक लगेर बेचबिखन गर्न लागिएको पत्ता लागेपछि उद्धार गरिएको उनले बताए ।

प्रारम्भिक अनुसन्धानमा आकर्षक तलब पाउने लोभ देखाएर उनीहरूलाई विदेशमा बेचबिखन गर्न लागिएको पाइएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनामाथि अनुसन्धान गरिरहेको छ ।

ती गिरोहले यसअघि पनि केही महिलालाई विदेश पठाउने बहानामा बिक्री गरेको पाइएपछि उनीहरूलाई उद्धार गरिएको हो ।

महिला बेचबिखनमा संलग्नमध्येका गणेशबहादुर कटुवाललाई यही चैत २ गते काठमाडौंको टोखा नगरपालिका– ५ बाट ब्यूरोले पक्राउ गरेको थियो ।

उनीसँग सोधपुछ तथा अनुसन्धानका क्रममा सोही घटनामा संलग्न रहेको पाइएपछि फरार भएका आरोपीमध्ये ५८ वर्षका लक्ष्मीप्रसाद सिटौलालाई मङ्गलवार चैत २० गते काठमाडौंबाटै पक्राउ गरिएको हो ।

उनीहरूसँगको बयानका तथा थप अनुसन्धान गर्दै जाँदा त्यसरी विदेश पठाउने लोभ देखाएर थप पाँच महिलाहरूलाई पनि बेचबिखनमा संलग्न गराउनका लागि होटलमा राखेर आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी प्राप्त भएपछि प्रहरी टोली गौशालाको होटलमा पुगेको थियो ।

'सिटौलालाई पक्राउ गर्ने क्रममा उनले भिजिट भिसामा दुबई हुँदै खाडी मुलुकहरूमा घरेलु कामदारको रुपमा आकर्षक तलब सुविधाको काममा लगाइदिने प्रलोभन देखाइ थप पाँच जना महिलाहरूलाई लैजाने तयारी गरेको पाइएपछि तत्कालै होटलबाट उनीहरूलाई उद्धार गरिएको हो', प्रहरी उपरीक्षक फुयाँलले भने ।

उद्धार गरिएकाहरूसँग आज थप जानकारी लिने तथा घटनाको थप अनुसन्धानका काम जारी रहेको ब्यूरोले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्