
लामो रस्साकस्सीपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्ततः इलाम– २ मा डम्बरबहादुर खड्का र बझाङ प्रदेशसभा– १ का लागि अभिषेक सिंहलाई उपनिर्वाचनको उम्मेदवार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावअनुसार नै इलामको प्रतिनिधिसभा र बझाङको प्रदेशसभाका लागि संस्थापन पक्षकै दुई उम्मेदवारको टुंगो लागेको हो ।
इतर पक्षका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान लिएका थिए । तर सभापति देउवाको अडानअनुसार नै मंगलवार, बुधवार र बिहीवार बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार तय गरेको हो । बोर्डको निर्णयलाई बिहीवार दिउँसो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको थियो । दुवै क्षेत्रमा चैत २४ गते उम्मेदवारी मनोनयन गर्ने र वैशाख १५ गते निर्वाचन गर्ने कार्यतालिका छ ।
नेकपा (एमाले)का सांसद सुवास नेम्वाङको निधन भएपछि रिक्त भएको इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट पहिलेकै उम्मेदवार खड्कालाई नै उठाउने निर्णय भएको हो ।
खड्का २०७९ मा भएको निर्वाचनमा तत्कालीन एमाले उपाध्यक्ष नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित भएका थिए । अघिल्लो चुनावमा नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । उनै युवा नेता खड्कालाई फेरि पनि देउवाले उम्मेदवारको टिकट थमाएका हुन् । उनी कांग्रेस इलामको सभापतिसमेत छन् । खड्का नेविसंघको केन्द्रीय उपाध्यक्ष र दुईपटक नेविसंघको इलाम सभापति भइसकेका छन् । इलाम कांग्रेसको कोषाध्यक्षसमेत भएर काम गरेका उनी निर्माण व्यवसायी पनि हुन् ।
त्यस्तै बझाङको प्रदेशसभा १ (१)को लागि कांग्रेसले उठाएका उम्मेदवार अभिषेक अघिल्लोपटक जितेका पृथ्वीबहादुर सिंहका छोरा हुन् । बाबुको निधन भएपछि रिक्त भएको क्षेत्रमा कांग्रेसले संस्थापन निकटकै सिंहलाई उम्मेदवार बनाएको हो । सुदूरपश्चिम प्रदेशमा मन्त्री भएकै बेला पृथ्वीबहादुरको दुर्घटनामा परी निधन भएको थियो । बाबुको दुर्घटनामा परी निधन भएपछि देउवाले उनकै छोरालाई टिकट दिलाएका हुन् ।
इलाममा एमालेले सुवास नेम्वाङका पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)ले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ ।

बझाङमा पृथ्वीबहादुर सिंह १७ हजार ११२ मत ल्याएर विजयी भएका थिए । पराजित एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत प्राप्त गरेका थिए । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सँग तालमेल गर्दा कांग्रेसका पृथ्वीबहादुर झण्डै चार हजार अन्तरले जितेका थिए । तर सडक दुर्घटनामा उनको निधन भएपछि छोरा अभिषेकलाई कांग्रेसले उम्मेदवार बनाएको हो । अभिषेक गत स्थनीय तहको निर्वाचनमा जयपृथ्वी नगरपालिका ५ को वडाध्यक्षमा पराजित भएका थिए । स्वतन्त्रका प्रेम थापा २७१ मत ल्याएर विजयी हुँदा एमालेका राकेशबहादुर सिंहले २१५ मत प्राप्त गरेका थिए । तेस्रो भएका कांग्रेसका अभिषेकको २०१ मत आएको थियो । उनै अभिषेकलाई यसपटक कांग्रेसले टिकट थमाएको छ ।
‘हामीले अलग र नयाँ अनुहारलाई टिकट दिलाउन सबै प्रयत्न गर्यौं । तर सभापति आफ्नो प्रस्तावबाट दायाँबायाँ हुन चाहनुभएन’ कांग्रेसका एक पदाधिकारीले भने, ‘असन्तुष्टि व्यक्त गर्दा उम्मेदवारले मत नपाउने अवस्था बन्छ । यसैले सभापतिको बोलावाला हुने पार्टी पद्धतिमा चुपचाप उहाँको प्रस्ताव मान्नुको विकल्प हामीसँग भएन ।’