
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले १ अर्ब ४७ करोड १० लाख ८५ हजार बिगो दाबीसहित बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको विशेष अदालतका शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।
जहाज खरिदको निर्णय गर्ने तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, मन्त्रालयका तत्कालीन सचिव शंकर अधिकारी र निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारसहित ३२ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको हो ।
२०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकारमा शाही पर्यटन मन्त्री बनेका थिए ।
००००
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । प्रदेश सभामा विश्वासको मत पाउने अवस्था सिर्जना नभएपछि उनले बिहीवार साँझ प्रदेश प्रमुखसामु राजीनामा दिएका हुन् ।
यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । सदन ‘फेस’ गर्न नसकेपछि उनले बिहीवार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
राजीनामा दिनुअघि चौधरीले आफ्नो दल नेपाली कांग्रेसका प्रदेश पदाधिकारी, सरकारका मन्त्री र प्रदेशसभा सदस्यहरूसँगको छलफल गरेका थिए ।
प्रदेशसभालाई सम्बोधन गर्दै चौधरीले राजनीतिक अस्थिरताले संघीयतामाथि ग्रहण लागेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अस्थिरता ल्याउँदा देशमा संघीयता रहने वा नरहने भन्ने गम्भीर प्रश्न सिर्जना भएको बताए ।
‘प्रचण्डको फुत्त–फुत्त प्रवृतिले संघीयता रहन्छ कि रहँदैन भन्ने अवस्था आयो,’ चौधरीले भने, ‘हामी सकिने अवस्था आयौं । कहिले यता र उता प्रवृत्तिले संघीयतामा ग्रहण लागिसक्यो । व्यवस्था बचाउन सक्छौं कि सक्दैन भन्नेबारे गम्भीर पश्न आएको छ । तीनतीन महिनामा सरकार फेरबदलका लागि संघीयता आएको होइन । हामीलाई डुबाउने र सक्ने अवस्था सिर्जना भएको छ ।
००००
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि चार राजनीतिक दल र एक स्वतन्त्र प्रदेशसभा सदस्यले पाँच बुँदे सहमति भएको छ । सहमतिपत्रमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गर्ने उल्लेख छ ।
००००
कोशी प्रदेशकी आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले आफू अध्यक्ष रहेको एक संस्थाको घर सरकारी बजेटबाट बनाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।
प्रदेश सरकारको २ करोड हाराहारी बजेट लगेर उनले धनकुटाको पख्रिबास नगरपालिका ८ मुगामा आमा दुर्गादेवी थापाको नाममा रहेको जग्गामा भवन बनाएको विषयमा लोकान्तरले समाचार प्रकाशित गरेसँगै अख्तियार र प्रदेश लेखा समिति समेतले छानबिन गर्ने जनाएको हो ।
००००
गृह मन्त्रालयले सामाजिक निर्देशन ऐन र संस्था दर्ता ऐनअनुसार स्थापना भएका कतिपय सङ्घ संस्थाले कानुन र संस्थाको उद्देश्य विपरीत कार्य गरेको गुनासा आएको भन्दै त्यस्ता गतिविधि गर्ने संस्थाका विषयमा जानकारी तथा सूचना उपलब्ध गराउन माग गरेको छ ।
००००
न्याय परिषद्ले न्याय सेवाअन्तर्गतका १० कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को बिहीवारको बैठकले नियुक्ति सिफारिस गरेको हो ।
जिल्ला न्यायाधीशको सिफारिसमा परेकाहरूमा दोलखाको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला, सर्वोच्च अदालतका इजलास अधिकृत नरेन्द्रप्रसाद बूढा, उपरजिष्ट्रार महेन्द्रबहादुर कार्की, उच्च अदालत विराटनगरको इलाम इजलासका रजिष्ट्रार जीवनकुमार भण्डारी छन् ।
००००
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहबीच भेटवार्ता भएको छ । गृहमन्त्री लामिछानेलाई भेट्न मेयर शाह बुधवार सिंहदरबारस्थित गृह मन्त्रालयमा गएका थिए । तर उनीहरूबीचको भेटका तस्वीर भने बिहीवार मात्र सार्वजनिक भएका छन् ।
००००
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।
आयोगबाट उपनिर्वाचनलाई लक्ष्य गरी देशभर सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी बिहीबार सार्वजनिक गरिएको हो ।
००००
चालु आर्थिक वर्ष २०८०–८१ को आठ महिनाको अवधिमा रु १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार कूल आयातमा दुई दशमलव सात प्रतिशतले कमी आएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९ दशमलव १ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः दुई दशमलव आठ प्रतिशत र २२ दशमलव नौ प्रतिशतले घटेको छ । यस्तै चीनबाट भएको आयात ३३ दशमलव सात प्रतिशतले बढेको छ ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँचमा अङ्कमा सीमित भएको छ ।
००००
सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सम्बन्धमा समिति बनाएरै छानबिन गर्नुपर्ने यथेष्ट प्रमाण फेला नपरेको बताएकी छिन् ।
लामिछानेमाथि लागेको आरोप सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् र स्वयं उनले संसदीय समितिमा कुरा राखिसकेको मन्त्री शर्माले बताइन् ।
००००
नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । आज बसेको बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । दुवै सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।