२३ जेठ २०८३, शनिबार

वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर

चैत २३, २०८०
पर्सा
वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर

वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ । वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’ सञ्चालनको तयारी गरिरहेको हो । आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म  ‘रात्रि बजार’ सञ्चालन हुनेछ । अहिले सजावटदेखि स्टल बुकिङलगायत काम धमाधम भइरहेको छ । 

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, नेपाल युवा उद्यमी मञ्ज वीरगञ्ज, वीरगञ्ज साइकक्लिङ क्लबलगायत संस्थासँगको सहकार्यमा रात्रि बजार सञ्चालन हुन लागेको हो । 

महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार रात्रि बजार अवधिभर नेपाल– भारत मुख्य सीमा चौबिसै घण्टा खुला राख्ने व्यवस्था मिलाउने प्रयास भइरहेको छ । 
भारतका पर्यटकलाई लक्ष्य गरेर यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा रात्रि बजारमा महानगरपालिकाले ७५ प्रतिशत लगानी गर्नेछ । 'यहाँका निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार सञ्चालन गर्न लागेका हौँ,' उनले भने ।

रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थिक गतिविधि बढाउने उद्देश्यले बजार सञ्चालन हुन लागेको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताए । आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेन पार्कसम्म लाग्ने रात्रि बजारमा १०० भन्दा बढी  स्टल रहने उहाँले जानकारी दिए । 

शिक्षा, स्वास्थ्यसम्बन्धी जानकारीमूलक स्टलका साथै त्यहाँ विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध सामग्री राखिने छन् । वीरगञ्ज महानगरपालिकाले अघिल्लो वर्ष पनि नयाँ वर्षका अवसरमा रात्रि बजार सञ्चालन गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्