
सुनसरीको भुटाहामा दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।
दुई समूहबीच झडपको अवस्था आएपछि नियन्त्रण गर्न हवाई फायर गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन तिम्सिनाले बताए । उनका अनुसार प्रहरीले ३१ राउन्ड हवाई फायर गरेको थियो ।
दुई समूहबीच झडप हुँदा ढुङ्गाले लागेर हरिनगराका ४ जना भने घाइते भएका प्रहरीले जनाएको छ ।
४ जना मध्ये तीन जनाको विराटनगरमा र एक जनाको इनरुवाको अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि हरिनगरा गाउँपालिका र देवानगन्ज गाउँपालिकाको १ र ७ नम्बर वडा लक्षित गर्दै निषेधाज्ञा जारी गरेको थियो ।
सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेला जम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न र नगराउन उल्लेख छ ।
एक युवामाथि भएको सामूहिक आक्रमणले दुई समूहबीच बढेको विवादले उग्ररुप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।