३१ जेठ २०८३, आइतबार
सन्दर्भः उपनिर्वाचन

उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता, इलाममा एमालेलाई माओवादीले सघाउने

चैत २४, २०८०
काठमाडौं
उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता, इलाममा एमालेलाई माओवादीले सघाउने
बाँयाबाट क्रमशः कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का र एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज (शनिवार) उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

इलाम–२ को प्रतिनिधिसभा र बझाङ प्रदेशसभा– १ मा हुने उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारीमाथि चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।

चैत्र २६ गते ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, चैत्र २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताका समय तोकिएको छ ।

२७ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ ।

नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो । एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । 

नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा एमालेलाई सघाउने निर्णय गरेको छ ।

रास्वपाका उम्मेदवार मिलन लिम्बू । 

दुवै पार्टीका जिल्ला संयोजकले शुक्रवार विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रले गरेको निर्णयलाई औपचारिकता दिँदै एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई मतदान गर्न मतदातासँग अपिल गरेका छन् । 

‘आगामी वैशाख १५ गते हुन लागिरहेको इलाम–२ प्रतिनिधिसभा उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रबीच एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकोले इलाम – २ मा नेकपा एमालेको उम्मेदवार सुहाङ नेम्वाङलाई साझा उम्मेदवारको रूपमा अत्यधिक बहुमतका साथ विजयी गराउनका लागि इलाम– २ का आम मतदातामा हार्दिक अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र माओवादी केन्द्रका जिल्ला संयोजक विजय खम्बुले हस्ताक्षर गरेका छन् ।

माओवादीले यसअघि नै इलाम–२ मा एमालेलाई सघाउने जनाएको थियो तर औपचारिक निर्णय भने भएको थिएन । 

इलाम–२ मा नेपाली कांग्रेसले डम्बरबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । पहिचान पक्षधर डकेन्द्र लिम्बूले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मूलतः कांग्रेस, एमाले र रास्वपाबीच नै प्रतिस्पर्धा हुने अनुमान छ ।
 

salt training

कमेन्ट गर्नुहोस्