
इलाम क्षेत्र नम्बर २ मा अहिलेसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारुढ नेकपा एकीकृत समाजवादीका जीतबहादुर लिम्बूसहित ६ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार समाजवादीका लिम्बू, जनमतका प्रेम थामसुहाङ, नेमकिपाका श्यामबहादुर दर्जी, मङ्गाेल नेशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बूलगायतले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै स्वतन्त्र रुपमा डाकप्रसाद गौतम र डकेन्द्रसिंह थेगिमले मनोनयन दर्ता गरिसकेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका ईन्द्रकुमार श्रेष्ठका अनुसार नेकपा एमाले पनि मनाेनयन दर्ता गर्न कार्यालयमा पुगिसकेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पनि उम्मेदवारी दर्ता गराउँदैछन् ।
गत (२०७९) चुनावमा इलाम-२ बाट जितेका नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि आगामी वैशाख १५ मा सोही क्षेत्रमा उपनिर्वाचनमा हुँदैछ ।
अघिल्लोपटक सुवास नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको झिनो अन्तरले पराजित गरेका थिए ।
गत निर्वाचनमा इलाममा नेम्वाङले ३० हजार २० मत ल्याएका थिए । खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । रास्वपाका प्रकाश सापकोटाले इलाम २ मा १३८० ल्याएका थिए ।
प्रत्यक्षतर्फ कांग्रेसलाई माओवादीको समर्थन थियो । एमाले एक्लै चुनावमा भिडेको थियो । अघिल्लोपटक एमाले एक्लै भिडे जस्तै यसपटक कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
समानुपातिकतर्फ भने एमाले पहिलो दल बनेको थियो । एमालेले २६ हजार ५६२ मत प्राप्त गर्दा कांग्रेसले २२ हजार ३३३ मत ल्याएको थियो । माओवादीले ५१५३ मत मात्रै पायो । रास्वपाले ४६८६ मत प्राप्त गरेको थियो ।
मङ्गोल नेशनल अर्गनाइजेशनले १६६१, राष्ट्रिय जनमुक्ति पार्टीले १४१३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १३१९, राप्रपाले ११९१, जसपाले ९०६, नेकपा एकीकृत समाजवादीले ५८६, नेकपा मार्क्सवादीले १२९, जनमत पार्टीले १२४, आमूल परिवर्तन मसिहा पार्टी नेपालले १०५, लोसपाले ९९, नेमकिपाले ७१, नेपाली जनता दलले ६० प्राप्त गरेका थिए ।