
नेकपा (एमाले)का संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई आइतवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
अधिकारीले आइतवार नै नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)को समर्थनमा मुख्यमन्त्रीसमक्ष दाबी पेश गरेका थिए ।
चैत्र २१ मा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा गरेपछि सरकार गठनका लागि चैत्र २७ सम्मको समय दिएका थिए । प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउन अधिकारी, माओवादीका हरिबहादुर चुमान र मनाङे प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
६० सदस्यीय प्रदेशसभामा एमालेका २२ र माओवादीका ८ सांसद छन् । माओवादीका कृष्ण धिताल प्रदेशसभाको सभामुख बनेका कारण ७ सांसदले मात्र मतदान गर्न पाउँछन् । यसअघि कोशी प्रदेशमा सभामुख बाबुराम गौतमले गरेको हस्ताक्षरलाई अदालतले मान्यता दिएको थिएन ।
बहुमत पुर्याउन एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग आग्रह गरे पनि राप्रपाले आफू तटस्थ बस्ने बताएको थियो ।