
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–२ स्यालामा रहेको खाद्यान्न तथा किराना पसलमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ ।
आइतवार १०ः३० बजे धनबहादुर बोहराको घरमा आगलागी भएको थियो ।
आगलागीबाट घरमा रहेको खाद्यान्न तथा किराना पसल, नास्ता पसल, लत्ताकपडासहित नगद रु तीन लाख ३० हजार गरेर कूल रु ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार बोहराको चार कोठाको दुई तले जस्तापाताले छाएको कच्ची घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
१०ः३० बजे लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा आज बिहान नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने नखुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
यसैबीच पीडित परिवारलाई वडा कार्यालयले राहत सहयोग गरेको छ ।
बोहराका परिवारलाई तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले वडाका तर्फबाट एक बोरा चामल, एक बोरा दाल, दुई कम्बल, एक फाइबर सिरक र खाना पकाउनका लागि भाँडावर्तन सहयोग गरिएको वडाध्यक्ष देवबहादुर यरीले जानकारी दिए ।