११ साउन २०८३, सोमबार
सरसर्ती २४ घण्टा

कोशीमा सरकार परिवर्तनको कोसिस, संसदको अवरोध खुलाउने प्रयास विफल

चैत २७, २०८०
काठमाडौं
कोशीमा सरकार परिवर्तनको कोसिस, संसदको अवरोध खुलाउने प्रयास विफल

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले सोमबार सामूहिक राजीनामा दिएका छन् ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिएको मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिए । उनीहरु माओवादी केन्द्रका मन्त्री हुन् । 

कोशीमा माओवादी केन्द्र र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रयास गरेका छन् । तर, मुख्यमन्त्री केदार कार्कीले मार्गप्रशस्त गरेका छैनन् । कोशीको तरल राजनीतिका कारण मध्यावधिको खतरा समेत छ । 

यही बीचमा माओवादी र कांग्रेसले प्रदेश प्रमुखलाई भेटर विशेष अधिवेशन बोलाउन आग्रह गरेका छन् भने मुख्यमन्त्रीलेचाहिँ जेठमा नियमित अधिवेशन आह्वान गर्न सिफारिस गरेका छन् । 

सोमबार नै एमाले–माओवादीले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका छन् । कोशीमा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ ।

हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ४० र माओवादीका १३ गरी ५३ सांसदले हस्ताक्षर गरेका छन् ।
००००
आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टङ्कलाल घिसिङले संयुक्तरुपमा नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।

नेपालको नयाँ जर्सीमा रातो, हल्का सेतो र नीलो रङ्ग मिश्रित गरिएको छ भने दुवै काँधमा नेपालको झण्डा अङ्कित रहेको छ ।
००००
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको चन्द्रागिरिस्थित सशस्त्र प्रहरी (एपीएफ) को गोदाममा भएको आगलागीबारे जानकारी लिएका छन् । सोमवार साँझ एपीएपको सामान राख्ने (स्टोर रुममा) भएको आगलागीबारे उनले सतुङ्गलनै पुगेर जानकारी लिएका हुन् ।

स्थलगत अनुगमनका क्रममा विद्युत सर्ट भएर आगो लागेको प्रारम्भिक जानकारी प्राप्त भएको मन्त्री लामिछानेको सचिवालयले जानकारी दिएको छ ।
००००
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरू लाग्नुपर्ने बताएका छन् । 

नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्यामा सोमबार काठमाडौं आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले निराशाले समस्या समाधान हुन नसक्ने भन्दै नयाँ वर्षमा नयाँ आशा र विधिको शासन स्थापनामा दलहरू लाग्नुपर्ने बताए ।
००००
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् ।

नाउपा केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेश सभामा दर्ता भएपछि प्रदेश सभा सचिवालयले सोमवार उनी पदमुक्त भएको जानकारी गराएको हो ।
००००
सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको प्रस्ताव सत्तापक्षले अस्वीकार गरेको छ ।

सभामुख देवराज घिमिरेले सोमवार आयोजना गरेको चार दलका शीर्ष नेताको बैठकमा सत्तापक्षले संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेको हो ।

बैठकपछि एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको संसदीय छानबिनको मागमा आफूहरू सहमत हुन नसकेको बताए । यससँगै संसदको अवरोध खुलाउने प्रयास विफल बनेको छ । कांग्रेसले मंगलबार पनि संसद अवरुद्ध पार्ने तयारी गरेको छ । 
००००
भिसा सकिएर पनि नेपालमा अवैध रुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतवार अध्यागमन विभागमा बुझाएको छ । 

विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानूनी रूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बङ्गलादेशी नागरिक पक्राउ परेका थिए ।
००००
नेपाली बजारमा सुनको मूल्य सोमबार पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको हो । 

आइतवार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार दुई सय कायम भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्