
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा पोखरेलसहित ८ जनाविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार २८ लाख ३७ हजार २१७ रुपैयाँ बिगो कायम गरी उनीहरूलाई बिगो बराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।
पोखरेलसहित कृषि इन्जिनियर विश्वनाथ पौडेल, तत्कालीन कृषि अर्थ विज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई, स्याङ्जाको गल्याङ्ग नगरपालिका ३ स्थित पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने तिमिल्सिना, सचिव परसुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ र गल्याङ्ग नगरपालिका - ३ का महेन्द्र कुमार भन्ने श्रीप्रसाद श्रेष्ठविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।
उनीहरूले भवन निर्माणका लागि पकवादी कृषि सहकारी संस्थाबाट प्राप्त बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाण पुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेको लगायतका अनियमितता गरेको आयोगको दाबी छ ।