
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको पलाँता गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुश्मासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
थोपा सिँचाई आयोजना निर्माण उपभोक्ता समितिले रकम खर्च गरी कुनै पनि काम नगरेको भन्दै अख्तियारले मंगलवार विशेष अदालतमा मंगलवार मुद्दा दायर गरेको हो ।
पलाँता गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुश्मा, सव-इन्जिनियर माधवकुमार भट्ट, तत्कालीन वडा अध्यक्ष पटकबहादुर बम र वडा सचिव जानकीकुमारी शाही, उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिपुरा रोकायविरुद्ध मुद्दा दायर गरिएको हो ।
थोपा सिँचाई आयोजनाको उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भई कार्य गर्दा उक्त योजनाको लागत अनुमान बमोजिम कार्य नभएको आयोगको दाबी छ । यस्तै, स्थलगत नापजाँच गरी कम काम भएको कार्यलाई बढी गरेको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
साथै प्राविधिक मूल्याङ्कनसहितको नापी किताबमा प्रमाणित गरी कार्य सम्पन्न प्रतिवेदनसमेत दिई भुक्तानीको आदेशलाई सदर गरी १३ लाख ७४ हजार ९९१ रुपैयाँ उपभोक्ता समितिलाई बढी रकम भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।