
काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौंको वायु प्रदूषण बढेको हो ।
‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो काठमाडौं विश्वको पहिलो प्रदूषित शहरमा रुपमा सूचीकृत भएको छ । इन्डेक्सका अनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय पुगेको छ ।
वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले मुलुकभर लागेको डढेलोको असर काठमाडौंलगायतका शहरको वायुमा परेको बताए ।
'केही साताअघि पनि काठमाडौंको वायु प्रदूषण बढेको थियो, आज थप प्रदूषण भएको छ', उनले भने । उनले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताए ।
'जानजान वनमा डढेलो लगाउनु भएन, डढेलो लगाउनेलाई कडा रुपमा कारबाही गर्नुपर्छ', उनले भने, 'जथाभावी रुपमा फोहर पनि जलाउनु भएन, मानवीय जनचेतनाका कारण पनि यो समस्या आएको छ । सबै सरोकारवालाको पहलमा अव प्रदूषण नियन्त्रणमा जुट्नुपर्छ ।'
विपत व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० सम्मको एक्यूआइलाई राम्रो मानिन्छ भने ५१ देखि एक सयसम्मको एक्यूआईलाई होसियार रहूँ अथवा पहेँलो सङ्केत दिइन्छ । एक सय एकदेखि एक सय ५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।
दुई सय एकदेखि तीन सय सयसम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ ।
काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।
यसप्रकारको विपद् रोक्नका लागि कार्य योजनामा फोहर जलाउने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्य योजनामा उल्लेख छ ।
राष्ट्रिय वातावरण नीति २०७६ मा प्रदूषण न्यूनीकरण गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति उल्लेख छ ।
प्रमुख शहर, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ्कन गरिनेछ रणनीतिमा उल्लेख छ ।