
डढेलो निभाउने क्रममा घाइते भएका ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठूलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ सैनिकको मृत्यु भएको हो ।
यही चैत २५ गते उक्त वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका ४ जना सैनिक घाइते भएका थिए । उनीहरूलाई उपचार गर्न जिल्ला अस्पताल डोल्पामा लगिएको थियो ।
तीमध्ये १ जनाको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली सेनाले जनाएको छ ।
बाँकी २ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । तीमध्ये २ जनाको निधन भएको नेपाली सेनाले मंगलवार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
उक्त घटनामा घाइते १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
देशभर भइरहेको आगलागी नियन्त्रणका लागि २०८० सालभर करिव ८०० स्थानमा १२ हजार ५०० जना सकलदर्जा परिचालित गरिएको नेपाली सेनाले जनाएको छ ।